Friday, April 26
Shadow

संसद पुनःस्थापनासँगै विभिन्न नेताहरुले गरे खुलेर प्रशंसा: सर्वोच्चको फैसलाप्रति कसले के भने ?


  • -इ
  • इ+

काठमाडौँ , फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पुस ५ गते विघटित प्रतिनिधिसभा पुनःस्थापना भएको छ । प्रधानमन्त्रीको कदम बदर गर्दै सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापनाको फैसला गरेको हो । योसँगै जन प्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको छ ।

संसद पुनःस्थापनासँगै विभिन्न क्षेत्र, निकाय तथा व्यक्तित्वहरुले विभिन्न कोणबाट आफ्ना धारणाहरु व्यक्त गरिरहेका छन् ।प्रतिनिधिसभा विघटनलाई बदर गरेको सर्वोच्च अदालतको फैसला आएपछि विभिन्न नेताहरुले यसको खुलेर प्रशंसा गरेका छन् ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिदै अध्यक्ष नेपालले संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी भएको बताएका छन् ।

उनले भनेका छन्, – संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

यता नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको फैसलाले सत्यको जित भएको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएपछि टिप्पणी गर्दै नेता पौडेलले सर्वोच्चको फैसलाले सत्यको जित भएको र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन् ।

उनले भनेका छन्,  मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवाद !

यसैगरि नेपाली काँग्रेसका युवा नेता गगन थापाले सर्वोच्च अदालतको फैसलाले संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने आदश दिएपछि टिप्पणी गर्दै नेता थापाले अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको बताएका छन् ।

उनले भनेका छन् – हामी सवैलाई बधाई १ संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ ।

यस्तै नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पनि नेपालमा अदालतमाथिको विश्वास थप बढेको बताएका छन् । मंगलबार साँझ फरकधारसँग कुराकानी गर्दै प्रदीप पौडेलले यो निर्णयसँगै अदालतको विश्वास र गरीमा थप बढेको बताएका हुन् ।

‘देशको संविधान थप समृद्ध भएको छ’ फरकधारसँगको प्रतिक्रियामा उनले भने, ‘यसले अहंकार बोकेको शासकलाई संविधानको पाठ पढाएको छ ।’ यो फैसला आएसँगै पौडेलले देशमा संविधान भएको र सुदृढ लोकतन्त्रका लागि यसलाई ठूलो उपलब्धिका रुपमा हेर्नु पर्ने बताएका छन् । ‘अब भविष्यमा पनि शासकहरु निरंकुश बन्नेतिर जाने आँट गर्ने छैनन्’ पौडेलले भने, ‘सर्वोच्च अदालत र न्यायमूर्तिलाई सलाम छ ।’

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले सर्वोच्चको निर्णय ऐतिहासिक भएको बताएका छन् । खबरहबसँगको कुराकानीमा नेता खनालले संसद पुनस्र्थापना गर्ने सर्वोच्चको फैसला संवैधानिक सर्वोच्चताको गतिलो उदाहरण भएको बताए ।उनले केपी ओलीको शत्ता शासनको अन्त्य भएको बताउँदै अब दलहरु मिलेर नयाँ सरकार गठन गर्ने बताए ।

उनले भने, ‘ अब हामीले नयाँ सरकार गठन गर्नुपर्छ । नयाँ सरकारले नयाँ प्रतिबद्धता, नयाँ नीति र कार्यक्रमका साथमा अघि बढ्नुपर्छ । हामी त्यसका लागि सबै राजनीतिक दलसँग कुराकानी गरेर अघि बढ्छौँ ।’

नेपाली कांग्रेस, जनता समाजवादी दललगायतका संसदमा रहेका दलहरुसँग छलफल गरेर अघि बढ्ने नेता खनालले बताए ।पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, ‘अब जनताको आशा अपेक्षालाई पूरा गर्ने बेला आएको छ । हामी जन अपेक्षा अनुसार काम गर्नेगरी अघि बढ्छौँ ।’

उनले तत्काल नेकपाको सँग एकीकरण हुने सम्भावना नरहे पनि चाँडै पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares