Thursday, March 28
Shadow

भागरथी हत्या प्रकरण : भारत जान लागेका शंकास्पद एक जना महेन्द्रनगरबाट पक्राउ


  • -इ
  • इ+

काठमाडौं, फागुन ४ । बैतडीको दोगडाकेदार–७ कतोलाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धानमा प्रहरीको निगरानीमा रहेका दोगडाकेदार गाउँपालिकाकै एक जनालाई भारत छिर्न लागेको अवस्थामा महेन्द्रनगरबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ गरिएका उनी सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । भागरथीको हत्या भएको केही दिनपछि उनी बिदा लिएर महेन्द्रनगर आएका थिए । प्रहरीले घटनाको दिन र घटनापछि गाउँ छाड्नेको सूची तयार गरेर उनीहरुमाथि निगरानी बढाएको थियो । तीमध्ये केही व्यक्तिलाई प्रहरीले उच्च निगरानीमा पनि राखेको थियो ।

यद्यपि अनुसन्धान प्रभावित हुनसक्ने भन्दै प्रहरीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले शंकास्पदहरुलाई ल्याएर सोधपुछ गर्ने कार्य भइरहेको जानकारी दिएका छन् ।

भागरथीको हत्या भएको दिन पक्राउ गरिएको भनिएका व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको र भागरथी खोचलेक बजारबाट घरतर्फ लागे लगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको स्रोतले बताएको छ ।

‘भागरथी घर जान लागेपछि तत्काल ती व्यक्ति पनि सोही बाटो हुँदै गएको पाइएको छ,’ स्रोतले भन्यो । घटनाको अनुुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार महेन्द्रनगरबाट पक्राउ परेका ती व्यक्ति अहिले पनि प्रहरी नियन्त्रणमै रहेका छन् । भारत भाग्न लागेको आशंकामा उनलाई पक्राउ गरिएको थियो ।

अनुसन्धानको क्रममा घटनाको समयमा उनी घटनास्थल नजिकै पाइएको र घटनामा संलग्न भएको पुुष्टी गर्ने केही आधार पनि आफूहरुसँग भएको स्रोतको भनाइ छ । स्रोत भन्छ, ‘भेटिएको मोबाइलको ब्याट्रीबारे कुकुरले गरेको संकेतबाट ती व्यक्ति शंकाको घेरामा थिए ।’ भागरथीको मोवाइलको व्याट्री पक्राउ परेका व्यक्तिको घर आसपासमै भेटिएको पनि प्रहरी स्रोतले जानकारी दिएको छ । यद्यपि घटनामा उनको संलग्नतालाई पुुष्टि गर्न भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले केही शंकास्पद व्यक्ति सूक्ष्म निगरानीमा रहेको बताएका छन् ।

गत माघ २१ बुधबार विद्यालय गएकी दोगडाकेदार–७ कतोलाकी भागरथीको अर्को दिन बेलुका बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकै लबलेक सामुदायिक वनमा शव भेटिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares