Thursday, March 28
Shadow

प्रधानमन्त्री ओलीले गरे देशकै ठूलो क्षमताको ढल्केवर विद्युत सबस्टेशनको उद्घाटन


  • -इ
  • इ+

काठमाडौं, माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गरेका छन् । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००,२२० र १३२ केभी क्षमताको छ ।

नेपालमा विद्युतको एक शताब्दीभन्दा पुरानो इतिहास र विसं १९६७ मा फर्पिmङ विद्युत्गृह निर्माणपछि अहिले प्रथम पटक ४०० केभी सबस्टेशन निर्माण सम्पन्न भई ढल्केवर–मुजफ्फरपुर लाइनसहित ४०० केभी सञ्चालनमा आएको हो । सङ्घीय सरकारको राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको जिआइएस प्रविधियुक्त सो सबस्टेशनमा हाल ३१५ एमभीएका तीन थान, ४०० र २२० केभी ट्रान्सफर्मर तथा ८० एमभीए क्षमताको एक थान, ४०० केभी रियाक्टर जडित छ जसबाट करिब ९०० मेगावाट विद्युत आदानप्रदान गर्न सकिन्छ ।

हाल सञ्चालन रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो ढल्केवर सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरी परीक्षण सम्पन्न गरिसकिएको छ । सो सबस्टेशनलाई प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलताका रूपमा पनि लिइएको छ । यी संरचनाले गर्दा ढल्केवर सबस्टेशन मुलुकभित्र नै पूर्वपश्चिम विद्युत आपूर्ति र भारतसँग व्यापारका लागि ठूलो केन्द्र समेत बन्न पुगेको छ ।

सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करीब एक हजार मेगावाट विद्युत् आयानिर्यातका लागि पूर्वाधार तयार भएको छ भने ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत भारत निर्यात गर्न सकिने छ ।

वर्षायाममा बढी भएका खण्डमा ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतमा सीधै निर्यात गर्न सकिने छ । कूल ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडो याममा भारतबाट थप विद्युत् आयात गरी देशभित्रको माग धान्न आपूर्ति गर्न सकिन्छ । यस्तै ४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिक रूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्ने पूर्वाधार तयार भएको छ ।

खिम्ती–ढल्केवर २२० केभी डबल सर्किटमा छिट्टै चार्ज गर्ने गरी कामसमेत भइरहेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत यही प्रसारण लाइनमार्फत ढल्केवर पुर्याइने छ । ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन ४०० केभीमा चार्ज भए पनि विद्युत प्रवाहको संरचनाको अभावले त्यसलाई १३२ मा परिणत गरी प्रवाह भइरहेको छ ।

कूल १३ बिघा १४ कठ्ठा वर्ग मिटर क्षेत्रफलमा रहेको सबस्टेशनको डिजाइन र निर्माणको सुपरीवेक्षण नेपाली इञ्जिनीयरले गरेका छन् । सो सबस्टेशन भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको छ भने सोहीबमोजिम अरूण तेस्रो जलविद्युत आयोजनाबाट नेपालले प्राप्त गर्ने निःशुल्क ऊर्जासबस्टेशनलाई प्राप्त हुने प्रावधान भएकाले सोबमोजिम थप विस्तार पनि भइरहेको छ ।

सो सबस्टेशनबाट नेपाल भारतबीचमा करीब एक हजार मेगावाटसम्म विद्युत आदानप्रदान गर्न सकिने र २२० केभीमा खिम्तीबाट आउने दुई फिडर मार्फत माथिल्लो तामाकोशीको विद्युत आपूर्ति हुनेछ । त्यस्तै हेटौंडादेखि इनरवासम्म बन्दै गरेको ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि करीब दुई हजार मेगावाटसम्मको विद्युत् हेटौंडातर्फ र दुई हजार मेगावाटसम्मको विद्युत इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तयार हुने छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares