Tuesday, April 23
Shadow

प्रधानमन्त्रीले संसद् विघटन मात्र होइन, देशको लोकतन्त्र माथि नै हमला गर्नुभएको छ : प्रचण्ड


  • -इ
  • इ+

विराटनगर , माघ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा अहिले गम्भीर राजनीतिक सङ्कट देखापरेकोले यसको निकासका लागि जनतामाझ आएको बताएका छन् ।

सो पार्टीद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधिसभा विघटनविरुद्ध विरोधसभा’मा उनले ‘प्रधानमन्त्रीले संसद् विघटन मात्र गरेको होइन लोकतन्त्र माथि नै हमला गर्नुभएको छ’ भने । पार्टी एकीकरण भएको तीन वर्ष नपुग्दै बीचमै पार्टी फुटेको चर्चा गर्दै अध्यक्ष दाहालले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिलाई लत्याइएको बताए । आवश्यक परे सभामुखले संसद् बोलाउने र संसद् चलाउने चर्चा गर्दै उनले सरकारले देशमा भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको आरोप लगाए ।

अध्यक्ष दाहालले पार्टीमा दुईतिहाई बहुमत रहेकोले यो पार्टी हाम्रो हो भन्दै सर्वोच्चले लोकतन्त्र र संविधानको भावनाअनुसार फैसला गर्ने विश्वास व्यक्त गरे । नेपाली जनतालाई रोजगार र सम्मान दिलाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “सबैभन्दा ठूलो अदालत जनता नै हो, त्यसैले जनता माथि आफ्नो भरोसा छ ।”

सोही पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले देशभर प्रतिगमन विरुद्ध आवाज उठिरहेको चर्चा गर्दै संविधानसभाले निर्माण गरेको संविधानको घाँटी न्याक्ने काम भएको बताए । उनले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आन्दोलन, सङ्घीयता र लोकतन्त्रलाई सिध्याउने खेल भएको बताए । उनले संसद् विघटनको सम्बन्धमा सर्वोच्च अदालत संविधान र जनताको भावनाअनुसार फैसला गर्ने विश्वास आफूमा रहेको भन्दै निर्वाचन आयोगले पनि नियम र कानून अनुसार निर्णय गर्ने भएकोले पार्टी हाम्रै पक्षमा रहने दावी गरे ।

सोही पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको केन्द्रीय र स्थायी कमिटिमा आफूहरुको पक्षमा दुइतिहाई बहुमत रहेकोले निर्वाचन आयोगले सोही अनुसार पार्टीको वैधानिकता प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले जनआवाजलाई सर्वोच्च अदालत र निर्वाचन आयोगले पनि सुन्नुपर्ने धारणा राख्दै संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको दावी गरे । कार्यक्रममा सोही पार्टीका नेता योगेश भट्टराई, शिवकुमार मण्डल र भीम आचार्यले सरकारको कदमले मुलुकमा द्वन्द्व निम्त्याउने बताउँदै उक्त कदम सही नभएको तर्क गरे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares