काठमाडौं, माघ ३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।
उनले भ्रमणका क्रममा त्यहाँका रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकरसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् भने दुई देशबीचको संयुक्त आयोगको बैठकमा भाग लिएका छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भरतीय समकक्षी एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने प्रयास गरेपनि मोदीसँग भेट भने हुन सकेन ।
नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठक :
भारत भ्रमणको क्रममा ज्ञवालीले शुक्रबार नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठक सम्पन्न भएको छ । शुक्रबार भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको बैठकमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतको नेतृत्व उनका समकक्षी एस जयशंकरले गरेका थिए ।
बैठकमा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौड्याल एवं भारतीय विदेश सचिव श्री हर्षवद्र्धन श्रृंगला लगायतका दुवै देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैठकले यसअघि पाँचौ बैठकमा दुवैपक्षबीच भएका विभिन्न सहयोग एवं साझेदारीको क्षेत्रको समिक्षा गरेको छ । यसबाहेक स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा, जलस्रोत, तेल, ग्यास, राजनीतिक सुरक्षा मुद्दाहरु, सीमा व्यवस्थापन, विकास साझेदारी र संस्कृति अभिवृद्धिलगायतका क्षेत्रमा थप सम्बन्ध विस्तार गर्ने निष्कर्ष निकालेको छ ।
बैठकमा नेपालले भारतलाई कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड र कोभ्याक्सिनको उत्पादनका लागि बधाइ दिएको थियो भने कोरोना भाइरसको माहामारीविरुद्ध लड्न दुवै देशबीचको सहकार्यको विषयमा चर्चा भएको थियो । त्यस्तै नेपालले कोभिशिल्ड र कोभ्याक्सिन यथाशक्य छिटो उपलब्ध गराउन अनुरोध गरेको छ ।
बैठकमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उल्लेखनिय सफलतालाई समेत दुवैपक्षले स्वागत गर्दै अब सो पाइपलाइनलाई चितवन सम्म विस्तार गर्ने र सिल्गुरी देखि झापासम्म पनि नयाँ पाइपलाइन विस्तार गर्ने विषयमा छलफल भएको छ ।
दुवै पक्षले सिमाक्षेत्र व्यवस्थापनका लागि थप पहल चाल्ने निर्णय गरेको छ । विरगञ्ज र बिराटनगरमा हालै उद्घाटन गरिएका चेकपोष्टले सीमा सुरक्षालाई सहज पारेको समीक्षा गरिएको छ ।
भारतले नेपालमा दुई सांस्कृतिक योजना पशुपतिनाथ रिभरफ्रन्ट र पाटन दरबारमा भण्डारखाल बगौँचा निमार्णका लागि अनुदानसहित सहयोग गर्न प्रस्ताव गरेको छ ।बैठकमा नेपालले भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्यमा समर्थन र साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
साथै नेपाल(भारत संयुक्त आयोगको अर्को बैठक उपयुक्त समयमा नेपालमा बस्ने सहमति भएको छ ।