Thursday, April 25
Shadow

हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी रहन आग्रह


  • -इ
  • इ+

काठमाडौं, पुस २३ । रुकुमपूर्वका तीनवटै गाउँपालिकालाई हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

हिमपातको समय आएकाले यसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समितिले गाउँपालिकाका साथै मानवीय क्षेत्रमा कार्यरत गैरसरकारी क्षेत्रलाई निर्देशन दिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहलाई हिमपातबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका साथै राहत, उद्धार र पुनःस्थापनाका लागि तयारी अवस्थामा रहन निर्देशन गरेको हो । यतिमात्र नभई चिसोबाट प्रभावित हुनसक्ने क्षेत्रका नागरिकको पहिचान गरी राहत सङ्कलन र वितरण गर्न निर्देशन गरेको प्रजिअ राईले बताइन् ।

यस्तै विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले विपन्न परिवारको पहिचान गरी न्यानो कपडा वितरण गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयकी सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु पोखरेलले बताइन् । उनका अनुसार दीर्घ रोगी, अपाङ्ग भएका व्यक्ति, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक लगायत बढी जोखिमपूर्ण वर्गलाई विशेष ध्यान दिनुका साथै चिसोबाट बिरामी भएकालाई उपचारको उचित प्रबन्ध मिलाउने निर्णय बैठकले गरेको छ ।

यस्तै स्थानीय तहसँग समन्वय गरी तत्कालै अतिगरीब तथा विपन्न परिवारलाई ऊनको टोपी, कम्बल, न्यानो चप्पल, उलनको मोजा, हटवाटर जग वितरण गर्ने निर्णय बैठकले गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिलाई मजबुत बनाउन विपद प्रतिकार्य योजनाका आवश्यक सामग्री पर्याप्त मात्रामा सुरक्षा निकायसँग नभएकाले सूची सङ्कलन गरी सामग्री खरिद गर्ने निर्णय पनि बैठकले गरेको सूचना अधिकारी एवं सहायक प्रजिअ पोखरेलले बताएकी छिन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares