काठमाडौँ — तार्केश्वर नगरपालिकाले तेस्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि आयोजना गर्ने भएको छ । ५३ विद्यालयका ३ हजार ४ सय ५४ विद्यार्थीको सहभागिता रहने प्रतियोगितामा फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिस गरी १० खेलको प्रतिस्पर्धा हुने बिषयमा शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
तार्केश्वर – ६, पैयाँटारस्थित सन फ्लावर एकेडेमीमा तेक्वान्दो खेलाइनेछ भने बास्केटबल तार्केश्वर–१०, मनमैंजुस्थित लालीगुराँस नेसनल एकेडेमी, ब्याडमिन्टन तार्केश्वर–१० स्थित जीफोर ब्याडमिन्टन हल र टेबलटेनिस तार्केश्वर–४ स्थित सिर्जना ज्ञानसागर स्कुलमा खेलाइने छ ।
फुटबल, भलिबल र कबड्डी तार्केश्वर–९, मनमैंजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी, एथलेटिक्स हल्चोकस्थित एपीएफको मुख्यालय तथा कराते र उसु तार्केश्वर–९ स्थित अजिमा कभर्डहलमा हुनेछ ।
आयोजक नगरपालिकाका मेयर कृष्णहरि महर्जनले विद्यार्थीमा भएको खेल प्रतिभा प्रस्फुटन गर्न, खेलक्षेत्रबाट एकता एवं मैत्रीपूर्ण भावना अभिवृद्धि गर्न, जिल्ला तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको पूर्व तयारी गर्दै सफलता हासिल गर्न, नगरस्तरीय खेलकुदको संस्थागत विकास गर्न र खेल संस्कृतिको विकास गर्ने उद्देश्यले २०७९ सालदेखि प्रतियोगिताको सुरु गरिएको बताए ।
प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सनाले बताए ।
‘खेल तार्केश्वरको, सन्देश एकताको’ को भन्ने नारासाथ हुन लागेको प्रतियोगितामा आयोजकका अनुसार प्रतियोगिता सञ्चालनको लागि ३० लाख बजेट विनियोजन गरिएको छ । प्रतियोगिता मंसिर २५ सम्म चल्नेछ ।
तार्केश्वर नगरपालिकाले मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि आयोजना गर्ने
- -इ
- इ
- इ+