Monday, January 20
Shadow

कृष्णनगरका तीन गाँउ उच्च जोखिममा, प्रदेश र संघ सरकारको ध्यानाकर्षण आवश्यक


  • -इ
  • इ+

कृष्णनगर, १३ साउन ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ मा नदी कटानले ३ गाउँ उच्च जोखिममा परेका छन् । चरगंहवा नदीको कटानले भदुई, मानपुर र हथियागढ गाउँ जोखिममा परेका हुन् । चरगंहवा नदीको पानीको धार गाउँतर्फ फेरिएर बग्न थालेपछि स्थानीयबासीहरु त्रसित भएका छन् । वर्षायाममा नदीमा आएको बाढीले वर्षेनी सो गाउँतर्फ नदीले कटान गर्दै आएपछि तीनै गाउँका बसिन्दाले गाउँ नै बाढीले बगाएर लैजाने डर, त्रासमा बस्न परेको स्थानीय शिवदास चौधरीले बताए ।

चरगंहवा नदीको कटानले गाउँदेखि ३ सय मिटर भन्दा नजिकै नदीको धार आइसकेको उनले बताए । उनले भने “अब समयमै तटबन्ध र नदीको धार फेरिने काम भएन भने बाढीले पुरै गाउँ नै बगाउँछ । नदीको कटान नियन्त्रण गर्न सरकारले छिटै ध्यान पुर्याउन जरुरी छ । समयमै नियन्त्रणको काम नभए गाउँ नै विस्थापित हुने अवस्थामा रहेको छ” । यस क्षेत्रबाट निर्वाचित स्थानीय, संघ र प्रदेशका जनप्रतिनिधि लगायत सम्बन्धित व्यक्ति र निकायले बेवास्ता गरेको उनको भनाई छ ।

कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले चरगंहवा नदी कटानको क्षेत्र अनुगमन गरेको बताएका छन् । कटानले गाउँबासी उच्च जोखिममा रहेको बताउँदै यसको नियन्त्रणका लागि प्रदेश र संघ सरकारमा पहल गरि रहेको उनको भनाई छ । उनले स्रोत साधन सिमित भएकोले पालिकाको बजेटले नदी कटानको जोखिमलाई नियन्त्रण गर्न सक्ने अवस्था नरहेको बताए । उनले १ किलोमिटर भन्दा बढी क्षेत्रमा तटबन्ध निर्माण गरे मात्र जोखिम क्षेत्रलाई नियन्त्रण गर्न सकिने बताए ।

तटबन्ध निर्माणका लागि करोडौँ करोड रुपैयाँको बजेटको आवश्यकता पर्ने उनले बताए । संघ र प्रदेश सरकारमा पटकपटक पहल गरे पनि यस ठाउँमा नदी कटान नियन्त्रणका लागि कुनै चाँसो नदेखिएको नगर प्रमुख शाहले गुनासो गरे । सिंगो तीन÷तीन गाउँ नै उच्च खतरामा रहे पनि सरकारले बजेट विनियोजन गर्न बेवास्ता गरेको उनले बताए । यहाँका नदीको जोखिमलाई ध्यान नदिई विभेद गरि अन्यन्त्र बजेट विनियोजन गरेको नगर प्रमुख शाहको भनाई छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares