काठमाडौं – जेठ ६ गते नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ (ख) को प्रदेश स्तरीय दोस्रो सम्मेलन भएको छ । तारकेश्वर १० मा भएको कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेस लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेस लेखकले काँग्रेस पार्टीमा सबैका आ–आफ्ना फरक विचारहरुको समूह भएको कारण नै असली लोकतान्त्रीक पार्टी बनेको बताए । लेखकले अर्को एक प्रसङ्गमा सदन अवरोध अन्त्यका लागि सरकारले गृहमन्त्रीको छानविनका लागि संसदीय दल नबनाएसम्म काँग्रेसले अवरोध गरिरहन्छ भनेका थिए ।
काठमाडौं क्षेत्र नं. ६ (ख) का सभापति विष्णुभक्त तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधान, जगदिश नरसिंह केसी, सबुज बानियाँ, श्याम खड्गी, ओमकृष्ण बिमली लगायतका नेता/कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रममा क्षेत्र नं. ६ (ख) को प्रोफाइल लोकार्पण र सम्मान कार्यक्रम गरेको थियो ।
कार्यक्रममा बोल्दै तारकेश्वर नगर प्रमुख तथा नेपाली काँग्रेस नगर सभापति कृष्णहरि महर्जनले नगरको बिकासमा सबैको साथ भएको र अबका दिनमा अझ बढी साथ र सहयोग हुनुपर्नेमा जोड दिदै नगरको विकासमा निरन्तर खटिएर काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
त्यस्तै काँग्रेस टोखा नगर सभापति ओमकृष्ण बिमलीले आगामी नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट सबै गुटहरुको अन्त्य भएर जाने बताए । एकढिक्का काँग्रेस निर्माण हुने कुरा बिश्वस्त हुन आग्रह गरे ।
काँग्रेस नेता जगदिस नरसिंह केसीले आगामी २०८४ सालको चुनावमा काठमाडौं क्षेत्र नं. ६ बाट पार्टीले टिकट दिए चुनाव जितेर देखाइदिने बताए ।
अहिलेको काँग्रेस पार्टीमा सांसद्, मन्त्री बन्नका लागि आर्थिक स्थिति मजबुत हुनुपर्ने स्थितिले पार्टी लाई कता पुर्याउने हो भन्ने चिन्ता व्यक्त गर्दै बिपि र सुबर्ण हरुको इतिहास मेटिदै गएको स्थिति छ भनेका थिए । पार्टी नयाँ बन्न आवश्यक छ ।
कार्यक्रममा बोल्दै पूर्व रक्षामन्त्री तथा काँग्रेस नेता भीमसेनदास प्रधानले भनेका छन् – मलाई हराउन काँग्रेसकै नेता/कार्यकर्ताहरु लागे । आफ्नै पार्टीका नेताहरु केन्द्रीय सभापतिकोमा गएर भीमसेनदासले चुनाव हार्छ भन्दै पहिल्यै नेगेटिभ म्यासेज दिएका थिं र चुनावमा पनि सहयोग गरेनन् भनेर रोष व्यक्त गरेका थिए ।
काठमाडौं क्षेत्र नं. ६ (क) का बागमती प्रदेश सभा सदस्य हरिप्रभा खड्गीले नेपाली काँग्रेस पार्टीमा सबैले सक्रियतापूर्वक काम गर्नुपर्छ । स्थानीय जनप्रतिनिधि र सांसद्हरुले जनपक्षिय काम गरेर काँग्रेसलाई विश्वासिलो पार्टी बनाउन आवश्यक रहेको बताउनु भयो ।