काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सत्तामा जान हतार गर्न नहुने बताएका छन्।
नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा काठमाडौंमा मंगलबार आयोजित ‘नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक गोष्ठीमा बोल्दै उनले कांग्रेसका लागि सत्ता ठूलो कुरा नभएको बताए।
‘कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन। पर्खेर बसौं, यो देशले कांग्रेसलाई फेरि सत्तामा पुर्याउँछ,’ उनले भने, ‘सत्ताका निम्ति हतार नगरौं, अहिले जुन गठबन्धन बनेको छ त्यो चिरस्थायी हुँदैन, उहाँहरू आफैंमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ।’
सत्तामा कांग्रेस किन जाने हो, के गर्न जाने हो भन्ने कुरा पहिले प्रष्ट हुनुपर्ने र काम गर्न पूर्वतयारी गर्नुपर्ने उनले बताए।
‘कुन क्षेत्रमा कसरी काम गर्ने हो प्रष्ट हुनुपर्छ,’ उनले भने, ‘नेपालमा सुशासन कसरी कायम गर्ने, स्वास्थ्य र शिक्षामा जनताको पहुँच कसरी पुर्याउनेजस्ता विषयमा प्रष्ट दृष्टिकोण बनाउनुपर्छ।’