सुर्खेत – राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा शतप्रतिशत मत खसेको छ । कर्णालीबाट तीन सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत परिसरमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्य साढे १२ बजेसम्म शतप्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरूका लागि दुई छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो । प्रदेशसभातर्फ ४० मत र स्थानीय तह तर्फ १५६ मत खसेसँगै शतप्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनु भयो । उहाँले आजै तीन बजेपछि मतदान गणना कार्य शुरु गरी साँझ ७ बजे सम्म मत परिणाम सार्वजनिक गर्ने आयोगको तयारी रहेको बताउनु भयो ।
कर्णाली प्रदेशमा ४० जना प्रदेश सभा सदस्य र १ सय ५६ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ९६ जना मतदाता रहेका छन् । महिला तर्फ एक जना, दलित तर्फ एक जना र अन्य तर्फ एक जना गरी तीन सिटका लागि ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रमुख प्रतिपक्ष दल एमालेबाट दलित तर्फ हिक्मत विक (दैलेख), महिला तर्फ विमला शाही (हुम्ला) र अन्यतर्फ डिल्लीप्रसाद भट्ट उम्मेदवार हुनुहुन्छ भने सत्ता गठबन्धनका तर्फबाट दलित कोटामा माओवादी केन्द्रका विष्णु विक (कालिकोट) महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), र अन्यतर्फ नेपाली कांग्रेसका कृष्ण रोकाया उम्मेदवार हुनुहुन्छ ।