नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ६ ले स्थानीय उत्पादनको बजारीकरणका लागि खोलेगाउँ महोत्सव गर्ने भएको छ । वडा नं. ६ समुन्द्रादेवी खोलेगाउँ नामले परिचित छ ।
खोलेगाउँको शम्शेरचोकमा पुस २९ र माघ १ गते गरी दुई दिन महोत्सव गर्न लागिएको वडा नं. ६ का वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । उनले नुवाकोटमा जन्मिएर काठमाडौं बसोबास गर्दै आएका र अन्य पर्यटकहरुलाई महोत्सवमा आउन र स्थानीय बजार प्रवद्र्धनमा सहयोग गर्न आग्रह पनि गरे ।
खोलेगाउँ महोत्सवमा मह, घ्यू, डोको, नाम्लो, बेसार, भोगटे, दुना टपरी लगायतका स्थानीय उत्पादनहरुको स्टल रहनेछ । स्टल राख्नेलाई प्रोत्साहनस्वरुप उल्टै रकम प्रदान गरिनेछ । महोत्सवमा स्थानीय परिकारहरुका साथमा सांस्कृतिक कार्यक्रम पनि रहनेछ । रैथाने उत्पादनको बजारीकरणका साथमा पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
महोत्सव स्थल काठमाडौंको सामाखुशीबाट मात्र २० किलोमिटरको दुरीमा छ । महोत्सव अवलोकन गरी समय बाँकी रहेमा नजिकै रहेको समुन्द्रादेवी मन्दिर, लप्से झरना लगायतका अन्य पर्यटकीय स्थलको भ्रमण गर्न पनि सकिनेछ । दुई दिन नै अवलोकन गरी गाउँमा नै बस्न चाहनेका लागि होम स्टेको व्यवस्था समेत रहेको छ ।