Wednesday, January 22
Shadow

मन्त्रिपरिषद्का निर्णयहरू : राष्ट्रपति पौडेलको युरोप भ्रमण कार्यक्रम स्वीकृत


  • -इ
  • इ+

काठमाडौँ – सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रपतिले यही कार्तिक २२ गते देखि मङ्सिर १ गते सम्म गर्नुहुने युरोप भ्रमण कार्यक्रम स्वीकृत गरेको जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिई उतैबाट संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमणमा जानुहुने मन्त्री शर्माले बताउनुभयो ।

यस्तै हिजो बसेको मन्त्रिपरिषद् बैठकले युएईमा हुने १८ औँ दुबई शो मा सहभागी हुन उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने, चीनको सांघाईमा हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने तथा चीनको छोङछिङ्मा यही कार्तिक २० र २१ गते हुने बेल्ट एण्ड रोड कन्फ्रेन्स अन साइन्स एण्ड टेक्नोलोजी एक्सचेन्जमा भाग लिन शिक्षा विज्ञान तथा प्रविधि राज्य मन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित परियोजना तथा आयोजनाहरूका लागि २ सय ६१ राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यवसायीकरण लगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरिया बीच हुने समझदारी पत्र स्वीकृत गर्ने, तथा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन बमोजिम समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै हिजो बसेको मन्त्रिपरिषद् बैठकले झुट्टो विवरण पेश गरी निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट र देवराज धमलाको नाममा जिल्ला प्रशासन कार्यालय कालिकोटबाट जारी भएको वंशजको नेपाली नागरिकता रद्द गरी उनीहरुलाई नेपाली नागरिकबाट हटाउने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यस्तै मन्त्री शर्माले दिनुभएको जानकारी अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटको किस्पाङ् गाउँपालिकालाई ५ शय्याको आधारभूत अस्पताल भवन निर्माणका लागि सोही पालिकामा रहेको ४ रोपनी सरकारी जग्गा उपयोग गर्न स्वीकृत दिने, उदयपुरको उदयपुरगढी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि सोही पालिकामा रहेको करिब ३ बिघा सरकारी जग्गा प्रयोग गर्न स्वीकृति दिने, डोटीको बडीकेदार गाउँपालिकाको प्रशासकीय भवन तथा १० शय्याको अस्पताल निर्माणका लागि १३ दशमलव २ रोपनी राष्ट्रिय बन क्षेत्र २५ वर्षका लागि प्रयोग गर्न स्वीकृति दिने, सभाखोला बी जलविद्युत आयोजनाको भौतिक पूर्वाधार निर्माणका लागि सङ्खुवासभाको सभापोखरी गाउँपालिका वडा नं. ३, ४,५ र ६ मा रहेको ४ दशमलव २९ हेक्टर सरकारी जग्गा तथा वन क्षेत्र २५ वर्ष सम्मका लागि प्रयोग गर्न स्वीकृति दिने, तथा मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको खम्बागाडे–पलौटे–विद्यापुर–गुटु–मायाताल सडक खण्डको स्तरोन्नतिका लागि १४ दशमलव ५ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न तथा सो क्षेत्रमा रहेका रुखहरू हटाउने स्वीकृति दिने निर्णय गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares