Wednesday, January 22
Shadow

१७ वर्षिया किशोरी विभाकुमारी यादव बनिन मधेश प्रदेशको गृह, सञ्चारमन्त्री


  • -इ
  • इ+

जनकपुरधाम – मधेश प्रदेशको गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमले बालिका तथा किशोरीको मनोबल बढाउनका लागि धनुषाकी १७ वर्षिया किशोरी विभा कुमारी यादवलाई पद हस्तान्तरण गर्नु भएको छ ।

मन्त्री समिमले प्लान ईन्टरनेशनको विश्वव्यापी अभियान अन्तर्गत आज मन्त्रालयमा आयोजना गरिइएको कार्यक्रममा धनुषाको विदेह नगरपालिकाको गिद्धा बेलापट्टीका घर भई कक्षा १२ को परीक्षा दिएकी छात्रा यादवलाई आफ्नो पदमा तथा कुर्सीमा आसिन गराई स्वागत गर्नु भएको छ । बालिका, किशोरीको तथा महिलाको समान सहभागिता कार्यक्रम अन्तर्गत प्रतिकात्मक रुपमा कार्यक्रम भएको छ ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानूनमन्त्रीको पदभार ग्रहण गर्नु भएकी किशोरी छात्रा विभा कुमारी यादवले मधेश प्रदेशमा हुने गरेको बालविवाह, महिला, वालिका हिंसा तथा लागु पदार्थको दुर्व्यसन रोक्नका लागि प्रभावकारी भूमिका खेल्न सरोकारवालाको ध्यानाकर्षण गर्नु भयो ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमले वालिका माथि हुने गरेको हिंसाको प्रभावकारी नियन्त्रण तथा लागु औषध कारोबार निर्मूल पार्ने गरि प्रदेश सरकार गंभिरता सहित काम गरिरहेको बताउनु भयो ।

उहाँले मधेश प्रदेशमा विगत केही समय यता हत्या हिंसाको घटनामा वृद्धि भएको बताउँदै यसको प्रभावकारी नियन्त्रण गर्नका लागि सबै सुरक्षा अङ्गहरूसँग प्रदेश सरकारले सहकार्य गरेर काम गरिरहेको बताउनु भयो ।

गृह, सञ्चार तथा कानूनमन्त्री समिमले अहिले विभिन्न कारणले सङ्घीयता कमजोर बनाउने काम भएको बताउँदै त्यस विषयमा छलफल गर्नका लागि मधेश प्रदेशका मुख्यमन्त्री सहित सरकारका सबै मन्त्रीहरूको सहभागितामा कार्तिक २० गते बृहत् बैठक हुन लागेको बताउनु भयो ।

प्लान ईन्टरनेशनले अन्तर्राष्ट्रिय वालिका दिवसको अवसर पारेर विश्वका ७५ मुलुकमा विशिष्ट व्यक्तिहरूको पद बालिका तथा किशोरीहरूलाई हस्तान्तरण गराएर समान शक्ति, समान स्वतन्त्रता तथा समान प्रतिनिधित्वको सन्देश दिइरहेको प्लान ईन्टरनेशन नेपालका क्षेत्रिय प्रबन्धक रविशंकर पण्डितले जानकारी दिनु भयो ।

नेपालमा प्लान ईन्टरनेशन नेपालले चार दशकभन्दा बढी समय देखि विकासको क्षेत्रमा काम गरेपनि पछिल्लो केही वर्ष देखि बालिका, किशोरी महिला सशक्तीकरणका लागि तीनै तहका सरकारसँग सहकार्य गरेर काम गरिरहेको प्लान ईन्टरनेशन नेपालका कोर्डिनेटर अञ्जु शाक्यले जानकारी दिनु भयो ।

प्लान ईन्टरनेशनलले सन् २०२३ मा ५० भन्दा बढी विशिष्ट व्यक्तिहरूको पद नेपालमा टेक ओभर गराउने कार्यक्रम रहेको बताउँदै सोही कार्यक्रम अन्तर्गत बालिका तथा किशोरीहरूलाई पद हस्तान्तरण गराउने अभियान चलाइरहेको कार्यक्रम अधिकृत काजल झाले जानकारी दिनु भयो । यो अभियान निरन्तर रुपमा चल्ने उहाँले जानकारी दिनु भयो ।

यस अघि टेक ओभर कार्यक्रम अन्तर्गत मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री तथा स्वास्थ्य तथा जनसख्यामन्त्रीको पद बालिका तथा किशोरीलाई हस्तान्तरण गराइसकेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares