काठमाडौं – विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी ओलीले कोशी प्रदेशमा मिलेर सरकार बनाउन दलहरुलाई आग्रह गर्दै ओलीले सम्भाव्य संकट टार्न सर्वदलीय सरकार बनाउने विकल्प अघि सारे ।
ओलीले संविधानको धारा ७६ (३) अनुसार बसेको एमाले नेतृत्वको प्रदेश सरकारले विश्वासको मत नपाए उपधारा (५) मा जानुपर्ने अवस्था आउने उल्लेख गरे । धारा ३ को सरकारले विश्वासको मत नपाए धारा ५ जा जाने र त्यतिबेला एउटा खुड्किलो मात्र बाँकी हुने भन्दै ओलीले समय छँदै सबै दल मिलेर सरकार बचाउनु बुद्धिमानी हुने बताए ।
कोशीको मुख्यामन्त्रीमा हाल एमालेका हिक्मतकुमार कार्की छन् । २० असोजमा विश्वासको मत नपाए सरकार ढल्छ । त्यसपछि दलहरुसँग धारा ७६ (५) को विकल्प मात्र बाँकी रहन्छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले केही दिनयता देशमा साम्प्रदायिक हिंसा भड्काउने प्रयास भइरहेको बताए ।
साम्प्रदायिक विद्वेष फैलाउन खोज्नेलाई समयमै जनताले चिन्नुपर्ने उनको भनाइ थियो ।
उनले कसैले उचालेर यस्तो अवस्था आएइको बताए । ‘केही नभई आफैंआफैं घरबाट निस्किएर त कोही झगडा गर्दैन, कसैले उचाल्दा मात्र हुन्छ,’ ओलीले भने, ‘शान्ति खलबल्याउने कुरो असल मनसायले हुँदैन ।’
यस्ता गतिविधि देश, जनता र कसैको पनि हितमा नभएको उनको स्पष्टोक्ति थियो । उनले साम्प्रदायिक विद्वेष फैलाउने प्रयासमा केही मानिसले खेल्न खोजे पनि त्यस्तो अभिष्ट पुरा नहुने बताए ।