काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आफूलाई भेट्न आएका एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खड्गबहादुर विष्टलाई भने ‘म अरू कुरा जान्दिनँ । अब एमसीसीका लागि धेरै पैसा थप्न सकिँदैन । त्यो ठेक्का प्रकृया रद्द गर्नुस् र रि-बिडिङतिर लाग्नुस् !’
विष्टले अमेरिकासँग भएको एमसीसी सम्झौता अन्तर्गत अघि बढाउने भनिएको प्रसारणलाइन परियोजना निर्माणका लागि ठेकेदारले गरेको वित्तीय प्रस्ताव सीमाभन्दा निकै बढी रहेकाले अब के गर्ने भनी अर्थमन्त्रीसमक्ष समस्या राख्दा यसरी खप्की खाएका हुन् ।
विश्वस्त स्रोतका अनुसार अर्थमन्त्री डा. महत एमसीए नेपालसँग सन्तुष्ट छैनन् । एमसीए नेपालका अधिकारीहरूले नेपालको परियोजना सञ्चालन गर्ने निकायभन्दा बढी एमसीसीको पक्षमा झुकाव राखेपछि अर्थमन्त्री रिसाएका हुन् । त्यसमाथि पहिले एमसीसीका अधिकारीहरूसँग चोचोमोचो मिलाउने र पछि आफूसमक्ष आएर ‘हजुर ! एमसीसीवाला मान्दैनन्, यसै गर्नुपर्छ भन्छन्,’ भन्दै घुमाउरो दबाब दिने काम गरेपछि एमसीए नेपालका पदाधिकारीसँग अर्थमन्त्री आजित बनिसकेको बताइन्छ ।