काठमाडौ – नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेकमा भन्सार ऐन संशोधन गरि भन्सार एजेन्टका प्रतिनिधिहरु हटाएको छ ।
भन्सार ऐन २०६४ को दफा ५१ मा भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धि व्यवस्थाको उपदफा १ मा “निकासी वा पैठारी हुने मालबस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसंग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रूपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्ने छ।” भन्ने व्यवस्थालाई संशोधन गरि सो को सट्टा “निकासी वा पैठारी हुने मालबस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसंग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा काम गर्न चाहने व्यक्तिले विभागबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्ने छ“ भन्ने व्यवस्था गरेको छ ।सो उपदफा १ को आधारमा भन्सार नियमावली २०६४ को नियम ३७ मा भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्थाको उपनियम ९ मा भन्सार एजेन्टले बढिमा २ जना व्यक्तिलाई आफ्नो प्रतिनिधिको रुपमा नियुक्त गर्न सक्ने व्यवस्था गरेको थियो । संशोधित भन्सार ऐन अनुसार अब भन्सार एजेन्ट स्वयं भन्सार कार्यालयमा उपस्थित भई मालबस्तू जाँचपास गर्नुपर्ने भएको छ । र यो व्यवस्थाआर्थिक विधेक संगसंगै लागु भएको छ ।
साथै यसै आर्थिक वर्ष २०७९/८० मा भन्सार विभागले ६६० जना नयाँ भन्सार एजेन्ट नियुक्ति गरेको थियो ।