Thursday, April 25
Shadow

शान्तिपूर्ण स्ववियु निर्वाचन र अबको आवश्यकता


  • -इ
  • इ+

त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा आंगिक तथा सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसहरुलाई जारी गरिएको स्ववियु निर्वाचनको निर्देशन स्वागतयोग्य छ ।
नेपाली शैक्षिक जगतको इतिहासलाई गौरवपूर्ण बनाउनदेखि विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि तोकिएको समयमा स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न अत्यन्तै जरुरी छ । तर सँगसँगै अनेकौ चुनौती, कठिनाई र व्यवधान भने यथेष्ट मात्रामा छन् ।
विगतका वर्षहरुलाई हेर्दा विश्वविद्यालय अन्तरगतका आंगिक क्याम्पसहरुको विद्यार्थी युनियनको निर्वाचन अशान्ति र हिंस्रक वातावरणबीच सम्पन्न भएका थिए । केही क्याम्पसमा त चुनाव नै सम्पन्न हुन सकेको थिएन । यसले नेपालको विद्यार्थी जगत र शैक्षिक परिपाटीमा अन्यौलता संगै राजनीतिप्रति वितृष्णा निराशा उत्पन्न गरायो ।

युवा उमेरसँगै तातो रगत हुन्छ विद्यार्थीमा । तर शिक्षित विवेकशील उर्जाशील अनि भविष्यमा देशलाई सुमार्गमा डोर्याउने आशा गरिएका बुद्धिमान विद्यार्थी वर्गले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको बहानामा शैक्षिक जगतलाई नै आतंकित र फोहोरी तुल्याउने कुकर्म आफैमा खेदजनक तथा घिनलाग्दो र अस्वाभाविक थियो ।
म हाल एन आर क्याम्पसमा अध्ययनरत छु । यहाँ अध्ययन गरिरहँदा विद्यार्थी संगठनका नेतृत्वदायी व्यक्तिहरु पार्टीका जुलुश सभा समारोहमा म जस्तै कैयौं विद्यार्थीहरु जम्मा गरेर उहाँहरु आफ्नो पार्टीको अहम् र दम्भ पूरा गर्ने प्रयत्न गरिरहेका देखिन्छन् ।
संगै युवाहरुको शैक्षिक अधिकारलाई थाँती राखेर पार्टीको स्वार्थ पूरा गर्ने भयानक खेल खेल्दा रहेछन् भन्ने सामान्य सत्य बुझ्न मलाई एक वर्ष लाग्यो । अझै पनि गहिराईमा बुझ्ने क्रममै छु, पूर्ण भइसकेको भने छैन ।
यसर्थ पनि २०७९ चैत ५ गतेका लागि तय गरिएको मिति नजिकिएसँगै स्ववियु निर्वाचनमा आम विवेकशील, निर्वाचन, परिवर्तनप्रेमी विद्यार्थी साथीहरु संयमित, सावधान र स्वविवेकी हुनु अपरिहार्य ठान्दछु ।

विद्यार्थी संगठनलाई आफ्नो भातृसंगठन बनाउने पार्टी र तिनका नेतृत्वदायी व्यक्तिहरुले आआफ्ना संगठनलाई जे जसो निर्देशन दिने गरेका छन् । हुबहु ठीक त्यस किसिमको व्यवहार सञ्चालन प्रयोगमा ल्याउने हो भने पुनः विगतजस्तै तोडफोड, आगजानी र कुटपिटका घटना नदोहोरिएला भन्न सकिन्न । जुन दुर्भाग्य हुनेछ । त्यसैले, त्रिवि प्रशासन बेलैमा सचेत हुनु जरुरी छ ।

हाम्रो जस्तो मुलुकमा विद्यार्थीको दलीय समूह बनाई पार्टीले निर्दोष विद्यार्थीहरुबीच अनावश्यक र अस्वाभाविक भीडन्त गराउनु कुनै नौलो कुरा होइन । किनकि यहाँ निष्पक्ष न्यायदाता संस्था न्यायालय त अछुतो छैन ।
विद्यार्थी अगुवा साथीहरुले आफ्नो सुन्दर भाग्य र भविष्यको नविन सपना बोकी विश्वविद्यालय प्रवेश गरेका हुन्छन् । अध्ययनमा इमान्दार, जेहेन्दार, लगनशील र राजनैतिक पूर्वाग्रहबाट मुक्त भएर विद्यार्थी आन्दोलनमा होमिएका हुन्छन् । उहाँहरुलाई म लोभ, लालच, प्रलोभन, डर, धम्की, त्रास वा राजनैतिक प्रभावमा पार्ने व्यवहारको विरुद्धमा उभिन पनि अनुरोध गर्दछु । साझा भावनात्मक एकता जुटाई भाईचारा बढाउने कार्यमा अग्रसर हुन सुझाव दिन चाहन्छु ।

अन्त्यमा, सम्पूर्ण विद्यार्थी साथीहरु अत्यन्तै उत्साहजनक रुपमा आआफ्नो शैक्षिक संस्थामा क्रियाशील भई स्ववियु निर्वाचनमा जुट्नु पर्छ । व्यापक विद्यार्थी साथीहरुको सहभागितामा निर्धारित मितिमै खुशियालीका साथ सहज, सुखद अनि रमाइलो वातावरणमा निर्वाचनमा सहभागी हुनुपर्छ । नभए अनधिकृत रुपमा अगुवाइ गरी हालीमुहाली गरिरहेका कथित विद्यार्थी नेताहरुको रजाइ जारी रहनेछ । विद्यार्थीहरुको वास्तविक समस्या पनि समाधान हुनेछैन । स्ववियुको सफल निर्वाचनको शुभकामना ।

लेखक: नेपाल विद्यार्थी संघ एन आर कलेज का बिधार्थी नेता सुशान्त सिटौला

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares