इङ्ल्यान्डका अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामी इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन्। २४ वर्षीय करनलाई शुक्रबार कोच्चिमा भएको लिलामीमा पञ्जाब किंग्सले १८.५० करोड भारुमा किनेको थियो ।
यसअघि सबैभन्दा महँगो खेलाडीको कीर्तिमान दक्षिण अफ्रिकाका क्रिस मोरिसको नाममा थियो। उनलाई १६.२५ करोडमा खरिद गरिएको थियो ।
क्यामरन ग्रीन (१७.५० करोड) ले पनि मोरिसको कीर्तिमानलाई पछाडि छोडेका छन् । यता निकोलस पूरन अहिलेसम्मकै सबैभन्दा महँगा विकेटकिपर बनेका छन् । उनलाई लखनउ सुपर जायन्ट्सले १६ करोडमा किनेको थियो ।
शुक्रबार दिउँसो २:३० बजे सुरु भएको लिलामी बेलुका ८:३० बजे अर्थात् ६ घण्टासम्म चलेको थियो।
टोलीसँग कूल २०६.५ करोड भारतीय रुपैयाँ थियो र अधिकतम ८७ खेलाडीहरू किन्न सक्थे। तर, सबै १० टोलीले जम्मा १६७ करोड रुपैयाँ खर्च गरेर ८० खेलाडी किनेका छन्। लिलामीमा अलराउन्डरको उच्च माग थियो। उनीहरुमा १०३.९५ करोड रुपैयाँ खर्च भएको थियो।
यो लिलामीमा खर्च भएको रकमको ६२.२५ प्रतिशत हो। लिलामीमा ४ सय ५ खेलाडीको नाम थियो । तर, जम्मा १ सय ५३ खेलाडीको बोली लगाइएको थियो । ७३ खेलाडीलाई कसैले किनेनन् भने रहे र ८० खेलाडीले खरिदकर्ता पाए। जसमा २९ विदेशी र ५१ भारतीय खेलाडी छन् ।