Thursday, April 18
Shadow

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि


  • -इ
  • इ+

कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपनि उपाधि उचाल्न सफल भयो ।

अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । खेलको २३औं मिनेटमा अर्जेन्टिनाका खेलाडी लियोलन मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र फ्रान्सका ओस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसको सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा डि मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । मारियाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । खेलको ८०औँ मिनेटमा फ्रान्सका लागि केलियन एमबाप्पेले पेनाल्टीमा गोल गरेका थिए भने त्यसको ८१औँ मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै खेल बराबरीमा पुगेको थियो । खेलको निर्धारित समयसम्म दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयमा पुगेको खेलमा अर्जेन्टिनाका लागि १०९औँ मिनेटमा मेस्सीले गोल गरे । लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाए पनि रिबाउन्डमा मेस्सीले गोल गर्न सफल भए भने अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सका लागि केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए । अतिरिक्त समयमा दुवै टोलीले एक–एक गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा गोलरक्षक इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिना उपाधि जित्न सफल भयो । अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

उपविजेता बनेको फ्रान्सका लागि केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे भने किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्नबाट चुके । यसअघि फ्रान्स सन् १९९८ र २०१८ मा विजेता बनेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares