झापाको दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको छ । नगरपालिका कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताउनुभयो ।
उहाँका अनुसार यसलाई नियन्त्रणका लागि कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको छ । शिविरमा जाँच गरिएको एक सय ५४ किसानको जमिनमा सबैजसोमा समस्या देखिएको थियो । शाखा प्रमुख भट्टराईले नगरपालिकाले निःशुल्करूपमा कृषि चुनको वितरण गर्ने गरेको बताउनुभयो ।
दमक नगरपालिकाले माटो परीक्षण गराउन चहाने कृषकका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्ने गरेको छ । माटोको गुणस्तर सुधार र उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले जानकारी गराउनुभयो ।
उहाँले माटोको गुणस्तर सुधार कृषकलाई उन्नत बीउबिजन उत्पादनका लगि सहयोग गरिरहेको उल्लेख गर्नुभयो । माटो तथा मल परीक्षण प्रयोगशालाले माटो परीक्षण गर्ने गरेको छ ।