Friday, December 6
Shadow

क्षेत्रभन्दा वाहिरका वाईसीएललाई ल्याएर सडकमा कांग्रेसको झण्डा बोकाएर निर्वाचन जितिन्छ र कमरेड !


  • -इ
  • इ+
लेखक –  माधव तिमल्सिना
‘ए माधव ! कांग्रेस भएर तैले किन सत्तारुढ गठबन्धनको विरोध गरेको ? काठमाडौं २ की ओनसरी घर्ती र काठमाडौं ७ की मानुषी यमी भट्टराईका विरुद्ध बढी नै पूर्वाग्रह किन साँधेको ?’ आजभोलि धेरैले मलाई यो प्रश्न गर्छन । सबैलाई के स्पष्ट पारौं भने म सत्तारुढ गठबन्धनको विरोधी होइन । लोकतन्त्र, शान्ति र समृद्धिको लागि यो गठबन्धन जरुरी थियो र छ । २०७४ सालमै माओवादी एमालेसँग मिलेर कांग्रेसलाई कमजोर बनाउँदा देशले क्षति ब्यहोरेकै हो । प्रचण्ड, डा. बाबुराम भट्टराईसहितका माओवादीका शीर्ष नेताले धोका नदिएको भए नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला देशको पहिलो निर्वाचित राष्ट्रपति हुनु हुने थियो । त्यो पदका लागि त्यतिवेला उहाँको मात्र हक थियो । यदि उहाँ राष्ट्रपति भएको भए पहिलो संविधानसभाबाट संविधान बन्थ्यो । संविधान सभा विघटन हुने, पार्टीहरु टुटफुट हुने, राजनीतिक अस्थिरता हुने हुँदैन थियो । आज देशको यस्तो दुर्गति हुने थिएन । हाम्रा श्रद्धेय नेता गिरिजा कोइरालाले भने जस्तै जहाँनेरबाट घना जंगलमा बाटो बिराइन्छ, पहिले हिंडेको पाइला पच्छ्याउँदै फर्कनुपर्छ र पुरानो ठाउँमा पुगेर नयाँ गन्तव्य तय गर्नुपर्छ । अहिले नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर जाने कुरा ठीक भएको छ । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर नेपाली कांग्रेसलाई कमजोर बनाउँदा के भयो ? फेरि देश पछाडि धकेलिएन त ? त्यसैले, नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर निर्वाचन लड्ने काम यसपटक सही भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि पनि चेतेर सही ठाउँमा आउनु भएको छ ।
मेरो खास विरोध चाहिं माओवादी केन्द्रले नेताहरुको परिवार व्यवस्थापन गर्ने नाममा नेपाली कांग्रेस, जनतालाई उम्मेदवार किन अन्यायपूर्ण रुपमा लादेको भनेर मात्र हो । नेपाली कांग्रेसका कार्यदलका सदस्यहरु, शीर्ष नेताहरुले काठमाडौं–२ मा वर्षमान पुनकी श्रीमती र काठमाडौं–७ मा डा. बाबुराम भट्टराईकी छोरीलाई किन उम्मेदवार बनाएका हुन ? एक्लाएक्लै लडेको भए पनि नेपाली कांग्रेसले जित्ने ठाउँमा किन माओवादी नेताहरुको परिवारका सदस्यहरुलाई किस्तीमा टिकट दिएको हो ? यी दुई सिट नेपाली कांग्रेसले नछाडेको भए गठबन्धन नै बन्दैन थियो र ? कि ‘प्रभु’ को दवावले दिएको हो ? कि हाम्रा कार्यदलका नेताहरु कुनै प्रलोभनमा फसे ? माओवादी केन्द्रमा वर्षमान पुनकी श्रीमती ओनसरी, बाबुरामकी छोरी मानुषीभन्दा पुराना, त्यागी, प्रभावशाली नेता छैनन् र ? माओवादी केन्द्रका धेरै पदाधिकारीले नै चाहँदा पनि टिकट पाएनन् । पार्टीका कोही पनि संघर्ष गरेका, अवसर नपाएका, पुराना त्यागी नेतालाई ती क्षेत्रबाट उठाएको भए म आफैं झोला बोक्न जाने थिएँ । ऊर्जाशील युवा समय निकै कठिन संघर्षमा ज्यानलाई हत्केलामा राखेर धेरै वर्ष माओवादीमा पसिना बगाएकाले त्यो पार्टीमा कसको कति योगदान छ भन्ने कुरा मैले राम्रोसँग जान्दछु ।
माओवादीमा पुराना, क्षमताशालीलाई उछिनेर सम्माननीय सभामुख बन्ने हैसियत ओनसरीको अहिलेसम्म पनि नभएको कुरा त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई त्यहाँका जनताले निर्वाचन जिताएमा एक थान विकासे मन्त्री बनाइ दिन्छु भन्नेबाट स्पष्ट हुँदैन ? वर्षमान पुनले निर्वाचन हारेपछि उनको दवावमा पार्टीले ओनसरीलाई सभामुख बनाएपछि वरिष्ठ पत्रकार ओम शर्माले उनलाई ‘राबडीदेवी’ नामाकरण गरेको कुराले त्यतिवेला पार्टीमा हल्लीखल्ली भएको होइन ? त्यतिवेलादेखि अहिलेसम्म जनयुद्धकालमा उषा नामले चिनिने ओनसरीलाई अनौपचारिक छलफलमा धेरैले ‘राबडीदेवी’ भन्छन । वर्षमान पुनलाई विहारको लालु जस्तै शक्तिका लागि जे पनि गर्ने भन्छन । दोरम्बा हत्याकाण्डका शहीदको स्मरण गर्ने कार्यक्रममा रामेछापमा पुगेर वर्षमानले अध्यक्ष प्रचण्डको शालिक बनाएर पूजा गर्ने उद्घोष गरे । त्यहाँको कार्यक्रमलाई जनयुद्धमा बलिदान दिने शहीदलाई सम्मानभन्दा पनि प्रचण्डको चाकडी गर्ने अवसरको रुपमा बदले । त्यसपछि उनलाई देशैभरि पार्टीका उम्मेदवार बाँड्ने, अन्य पार्टीसँग छलफल गर्ने गरी प्रचण्डले हर्ताकर्ता बनाए । आफू रोल्पाबाट र श्रीमतीलाई काठमाडौं–२ मा ल्याउने काम गरे वर्षमानले । अध्यक्ष प्रचण्डको निकट रहेर वर्षमान पुन र ओनसरीले सँगै र पालैपालो सत्ता उपभोग गरिरहेका छन् । पार्टीका उपमहासचिव हरिबोल गजुरेल आफ्नै टिकट सुरक्षित गर्न नसकेर रोएर काठमाडौंमा बसिरहेका छन् । उता काठमाडौं ७ मा डा. बाबुराम भट्टराईले छोरीलाई बोकेका छन् । समानुपातिक उम्मेदवारमा भाइ बुहारी दुर्गा न्यौपानेलाई समेटेका छन् । शान्ति प्रक्रियामा आउँदा बाबुराम र उनकी पत्नी हिसिला यमी एउटै क्याबिनेटमा थिए । सत्ताको अवसर अरुलाई दिनै नचाहने ? आफू र श्रीमती संसदमा नजाने भनेर त्यागी भएको आदर्श छाँटेर बाबुरामले छोरी र भाइ बुहारीलाई लान खोजेका छन् । जनयुद्धमा लडेका, उनीसँगै संघर्षमा होमिएका, उनकै अपिलमा जीवन दिन तयार इमान्दार, क्रान्तिकारी, निष्ठाका लागि लडेका नेता तथा कार्यकर्ताहरुलाई लाभको पदमा लैजान किन उनले पनि नचाहेका ? छोरी मानुषी र बुहारी दुर्गाको जनयुद्धमा, अन्य संघर्षमा पनि कुनै भूमिका थिएन । जनयुद्धकालमा छोरी र बुहारी दुवै पढ्दै थिए । छोरी त सानै थिइन । पछि बुहारी पढाउन थालेकी थिइन ।
राजनीतिका कुरा छाडौं, सामाजिक, नागरिक आन्दोलनमा यिनीहरु दुवैको कुनै योगदान छैन । किताव पढेर राजनीतिक विश्लेषण गर्नसक्ने भए होलान तर सामाजिक अन्तरविरोध पर्गेल्न, टिम, कमिटी परिचालित गर्न यिनीहरु जिरो हुन, कुनै अनुभव छैन । राणाकाल र निरंकुश राजतन्त्रमा जस्तै जर्नेलको छोरा जर्नेल, राजाको छोरा राजा बनाउने हो भने राजतन्त्र ढाल्न त्यत्रो जनताको रगत किन बगाएको हो ? लाखौंको समय र पसिना किन खेर फालेको हो ? बलिदान गरे     ल्याएको लोकतन्त्रमा सामन्ती परिपाटी ? माओवादीमा परिवारवाद, आसेपासे समात्ने, अपारदर्शी ढंगले आर्थिक स्रोत कमाएर नेताकोमा केही हिस्सा थैली बुझाउनेलाई महत्व दिने काम सुरुदेखि अहिलेसम्म निरन्तर भइरहेको छ । यस्तै यस्तै विकृति देखेर, त्यो पार्टीको आन्तरिक जीवन, जीवनशैली लोकतान्त्रिक छैन भनेर मैले माओवादी पार्टी छाडेर लोकतन्त्रको पक्षधर कांग्रेसमा केही वर्षअघि प्रवेश गरेको हो । कांग्रेसमा आएर पनि त्यही माओवादीका नेताहरुको विकृतिको भारी हामीले बोक्नुपर्ने हो ? मेरो खास चित्त दुःखाइ हो यो । मैले ओनसरी र मानुषीको व्यक्तिगत विरोध गरेको वा पूर्वाग्रह साँधेको होइन । माओवादी केन्द्रमात्र चुनावमा लडेको हुन्थ्यो, उसले उम्मेदवार उनीहरुलाई उठाउँथ्यो, पुराना, त्यागी दब्बु माओवादी नेता तथा कार्यकर्ताहरुले खुरुखुरु नेतृत्वले लादेको उम्मेदवारको झोला बोकेर हिंड्छन भने मेरो के आपत्ति ? आफ्नो पार्टीको उम्मेदवारको पक्षमा हिंड्थे, सकिइहाल्थ्यो । तर, हामी कांग्रेसले माओवादी केन्द्रको अलोकतान्त्रिक, अपारदर्शी, अन्यायपूर्ण कामको भारी किन बोक्ने भनेको न हो मैले ! काठमाडौं ७ मा बाबुरामले छोरी नउठाएर उनी उठेका हुन्थे भने त्यही वर्षमान काठमाडौं २ मा उठेका हुन्थे भने मेरो कुनै विरोध हुँदैन थियो । अझ बाबुराम काठमाडौंबाट उठेको भए म झोला बोक्नै हिंड्थे । उनीहरुले आफू नउठेपछि जनयुद्ध लडेर एक पटक पनि सत्ताको अवसर नलिएका इमान्दार नेताहरु कांग्रेसले एक्लै जित्ने जुनसुकै ठाउँमा उठाएको भए पनि म खुशी हुन्थे । एकपटक पनि अवसर नपाएका, कठिन समयमा विद्यार्थी आन्दोलनको नेतृत्व लिएका, स्वच्छ छविका लेखनाथ न्यौपाने जस्तालाई काठमाडौं २, ७ जहाँबाट उठाएको भए पनि हुन्थ्यो नि ! उनले प्रचण्डको पार्टीभित्र र वाहिर पनि वैचारिक आलोचना गरेकाले नल्याएको होइन ? त्यो त जे गरुन उनीहरुको आन्तरिक कुरा हो । तर, समाजले लाजले आँखा छोप्नुपर्ने गरी भएका काम कार्वाहीको भने हामी लोकतान्त्रिक संस्कृति, पद्धतिमा चल्नेहरु साक्षी हुन सक्तैनौ ।
राजनीति धन्दा होइन स्वयमसेवी कर्म हो भन्ने मेरो पहिलेदेखि अहिलेसम्म मान्यता हो । हिजो माओवादीले नेतृत्व गरेको जनयुद्धमा यसैका लागि मर्न हिंडेको हो । तर, त्यहाँ सामन्ती संस्कार र पद्धति देखेर नै कांग्रेसमा प्रवेश गरेको हो । काठमाडौं–२ मा पदमा रहेका केही हाम्रा कांग्रेसका साथीहरु ओनसरीसँगै हिंड्नुपर्ने बाध्यताका कारण भारी मन बनाएर मरेको बिरालो काखी च्यापेर घनघस्याको उकालो हिंडे जस्तै हिंडिरहेका छन् । अनौपचारिक छलफलमा विवेकलाई बन्धक राख्नुपरेको छ भन्दैछन । उनीहरुको भनाइ छ, तँ जस्तो स्वतन्त्र हुन सकेनौं । साथीहरुले भने जस्तो म पनि स्वतन्त्र होइन । दुई निर्वाचन क्षेत्र वाहेक मेरो पनि देशैभरिको सत्तारुढ गठबन्धनमा सहमति छ । जमिनबाट नै उठेर दुःख गरेकी माओवादी केन्द्रकी नेतृ गठबन्धनकी उम्मेदवार कल्पना धमलाको पक्षमा काठमाडौं–९ मा मैले प्रचार गरेकै छु । धमलाको माहौल निकै राम्रो पनि बन्दै गएको छ । उनले जित्नसक्ने गरी लहर आइरहेको छ । काठमाडौं–२ मा कांग्रेसका सोझा नेता, कार्यकर्ताहरु तथा मतदाताहरुको भावनात्मक ब्लाकमेलिङ गर्न वाईसीएलका अध्यक्षलाई कांग्रेसको झण्डा, चुनाव चिन्ह बोक्न लगाएको प्रचार भइरहेको छ । राजनीति त निष्ठा, आदर्शका आधारमा गरिन्छ, व्यापार, धन्दा होइन । कांग्रेसका नेता तथा कार्यकर्ताहरु सडकमा खासै नओर्लेपछि निर्वाचन क्षेत्रभन्दा वाहिरबाट कार्यकर्ता, वाईसीएलहरु ल्याएर कांग्रेस ओर्लिए भनेर कांग्रेसका धेरै झण्डा बोकेको देखाएर आममतदातालाई भ्रम पार्न खोजिएको छ । अहिले काठमाडौं–२ मा निर्वाचन लड्दा समेत ‘घरभेटी’ शारदा अधिकारीको आलिसान महल ललितपुरमा बसेर, चुनावी अभियानमा स्थानीयलाई अरनखटन गर्न वाहिरबाट मान्छे लगेर, प्रचारप्रसारमा हिंड्ने पनि मान्छे आयात गरेर, कांग्रेसको झण्डा बोक्न लगाएर लडेको टुरिष्ट उम्मेदवारले निर्वाचन के जित्लान ? अनि जिते पनि स्थानीय जनता र ठाउँप्रति कतिको न्याय होला ? काठमाडौं–२ मा माओवादी केन्द्रले सिफारिस गरेका जनयुद्धकालमा योगदान दिएका स्थानीय कृष्णराज सुवेदीलाई उठाएको भए पनि मेरो विरोध हुँदैन थियो । रोल्पाबाट आएपछि अर्कै ग्रहबाट आएको जसरी सबै ठाउँ, अवसर दिनुपर्ने वाध्यता माओवादीका नेता तथा कार्यकर्तालाई त होला तर काठमाडौंवासीलाई किन त्यो बाध्यता ? काठमाडौं २ मा झक्कु उठ्दा हामीले काँध गल्ने गरी बोक्यौं, उनले त्यहाँ जनसेवक होइन शासक बनेर आएपछि जनतामा व्यापक असन्तुष्टि भयो र हार्छु भनेर फेरि काठमाडौं ६ मा आए, मैले विद्रोह गरें । मैले मानिन । काठमाडौं २ मा ओनसरी रोल्पाको दोस्रो संस्करणलाई माओवादीभित्रैबाट विद्रोह गर्नैपर्छ । सामन्ती परम्परालाई धान्दै आएका निर्वाचन क्षेत्र दुई र सातलाई काठमाडौंका सचेत जनताले जिताउनु हुँदैन । उनीहरुलाई मत नदिएपछि कांग्रेसले स्वतन्त्रलाई पार्टीमा ल्याउने गरी जिताए हुन्छ । रोल्पामा वर्षमान पुनको भित्री र वाहिरी रणनीति बनाउँदा कांग्रेसलाई फरक पर्दैन । वर्षमानका दाहिने हात दीपेन्द्र पुनलाई उनले कांग्रेसका विरुद्ध प्रदेशसभामा विद्रोह गराएका छन् । वर्षमान काखमा राखेर छुरा हान्ने षडयन्त्रकारी नेता हुन, उनले कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराएर स्वतन्त्र उम्मेदवार जो उनका अत्यन्त विश्वासिला हुन, दीपेन्द्र पुनलाई निश्चित जिताउँछन । यदि उनले रोल्पाको प्रदेशसभामा कांग्रेसलाई जिताए भने सार्वजनिक रुपमा माफी माग्छु । यसको क्षतिपूर्ति दिनुपर्ने हो भने दिन्छु । तर, मलाई वर्षमानको चरित्र राम्रोसँग थाहा छ, मैले माफी माग्नु र क्षतिपूर्ति दिनु पर्दैन ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares