Tuesday, April 23
Shadow

काठमाडौं -२  मा  कसरी जित्छिन ओनसरी घर्ती ?


  • -इ
  • इ+
हिजो त्याग र वलिदानको अनुपम उदाहरण देखाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अहिले एजेण्डा विहीन भएको प्रतित हुन्छ । ‘व्यवस्था बदल्यौं, अवस्था बदल्ने छौं’ भन्ने मुख्य नारा बनाएको माओवादी केन्द्रले यतिवेला आफू उठेका हरेक चुनावी क्षेत्रमा जित्नका लागि मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री बन्ने भन्दै मतदातालाई सपना बाँडिरहेका छन् ।
केही दिनअघि माओवादी केन्द्रका सुप्रिमो प्रचण्डले ओनसरी घर्ती उठेको क्षेत्र काठमाडौं–२ मा पुगेर आश्वासन दिए, ‘ओनसरीलाई चुनाव जिताउनुस म विकासे मन्त्री बनाउने छु ।’ काठमाडौं २ का जनताले प्रचण्डले दिने भनेको विकासे मन्त्रीको आश्वासनलाई खासै महत्व दिएनन् । प्रधानमन्त्री बनिसकेका र बन्ने हैसियत रहेका माधवकुमार नेपाललाई पटकपटक मत दिइसकेका त्यस क्षेत्रका जनताले विकासे मन्त्रीको ललीपपलाई के महत्व दिन्थे र ? त्यसपछि ओनसरीले चुनावी अभियानमा उम्मेदवारसँग खर्च लिएर अन्तर्वार्ता प्रसारण गर्ने चर्चित पत्रकारलाई बोलाएर आफू पहिलो महिला प्रधानमन्त्री बन्ने भनिन । उनको पृष्ठभूमि, पार्टीको आकार र वर्तमान अवस्था हेर्दा उनले सचेत मतदाताका सामु सफेद झुट बोलेको अनुभुति मतदातालाई भैरहेको छ ।
वरिष्ठ पत्रकारहरुको अनौपचारिक गफगाफमा एक  वरिष्ठ पत्रकारले ओनसरी घर्तीलाई राबडीदेवी  संज्ञा  दिएका छन् । उनले यसो भन्नुको कारणबारे प्रष्ट्याउँदै भन्छन, बिहारमा लामो समय मुख्यमन्त्री बनेका लालु यादवले कानुनी रुपमा मुख्यमन्त्री बन्न नपाएपछि श्रीमती राबडीदेवीलाई बनाए जस्तै २०७० सालमा पार्टीका चल्तापुर्जा र पार्टी अध्यक्ष प्रचण्डले पत्याएका वर्षमान पुनले निर्वाचन हारेपछि पार्टीभित्र थुप्रै सिनियर नेता हुँदाहुँदै ओनसरी सभामुख बनिन । यिनै ओनसरी अहिले आफू प्रधानमन्त्री बन्ने सपना देखिरहेकी छिन ।
उनले अहिले राजनीतिमा अब्बल र प्रधानमन्त्री बन्न योग्य देखाएको कारणमा कुनै राजनीतिक एजेण्डा होइन, मुख्यतः श्रीमानको विरासतबाट पाएको सभामुख पदमा रहँदा भ्रष्टाचार नगरेको भन्ने छ । कानुनी रुपमा उनले भ्रष्टाचार गरे, नगरेको प्रमाण नभेटिएला । तर, उनको, उनको परिवारको पहिले र अहिलेको हैसियत के छ भन्ने कुरा व्यवहारबाट प्रष्ट छैन र ?
उनी र उनको श्रीमान वर्षमान २०६३ साल यता सँगै र आलोपालोमा सुविधाको राजकीय पदमा बसिरहेका छन् । उनका श्रीमान वर्षमान पुन यतिवेला रोल्पाबाट प्रत्यक्ष निर्वाचनमा उठेका छन् भने ओनसरी सिफारिस नभएको, स्थानीय कृष्णराज सुवेदी लड्ने भनेर तय भएको काठमाडौं २ मा किन र कसरी आइन ?
भ्रष्टाचार गर्नु छैन, पदबाट लाभ छैन भने दुवै जना श्रीमान, श्रीमती, जो पार्टीमा नेता छन्, किन सांसद पनि बन्नुपर्यो?
सबैलाई थाहा छ, २०६३ सालमा व्यवस्था बदलिएसँगै उनीहरुको अवस्था गुणात्मक रुपमा बदलिएको छ । वर्षमान पुन विदेशी महंगा अस्पतालमा निजी खर्चमा कसरी उपचार गर्ने हैसियतमा पुगेका छन् ? जबकि जनयुद्ध लड्ने थुप्रै घाइते योद्धाहरु नेपालमै उपचार नपाएर तड्पिरहेका, मरिरहेका छैनन् ? यतिवेला काठमाडौं २ मा  प्राडो, पजेरो जस्ता महंगा गाडीहरु धुलो उडाउँदै ओनसरीको प्रचारप्रसारमा मतदाताका बीचमा गइरहेका छन् । निर्वाचनको अभियानमा हिंड्दा अब आफूलाई टुरिस्टको आरोपबाट बच्न स्थायी घर बनाउने प्रतिबद्धता ओनसरीले व्यक्त गरिरहेकी छिन । ओनसरी र वर्षमानको काठमाडौंमा महंगो घडेरी र घर बनाउने हैसियत कसरी बन्यो ?
रोल्पाको माडीचौरको जायजेथा बेचेर काठमाडौंमा घर त बन्दैन ! वर्षमान पुन, ओनसरी घर्तीहरु जस्ता केही सिण्डिकेटधारी नेताहरुले माओवादी जनयुद्धको त्यो महान त्याग र वलिदानलाई आफ्नो, आफ्नो परिवारको उत्थानका लागि बदले । राजनीतिलाई कमाउने धन्दा, कमाउने सजिलो पेशा बनाए । माओवादी आन्दोलनमा वर्षमान पुन, ओनसरी घर्तीले भन्दा बढी त्याग गरेका नेता तथा कार्यकर्ताहरु अहिले पनि सडकमा भोकै छन्, नांगै छन्, उपचारविहीन छन् । निरन्तर वर्षमान, ओनसरी जस्ता सत्तामा रहिरहनेहरुको व्यवस्थासँगै अवस्था बदलिएको छ । यस्तै गलत नेतृत्वका कारण संसारलाई नै हल्लाउने संघर्ष आज वदनाम भएको छ । प्रतिगामीहरु सल्बलाउने अवस्था सिर्जना भएको छ । हिजो जीवन त्याग गर्न तयार भएका र अहिले पनि आदर्श जीवन बाँचिरहेकाहरु समेत राजनीतिलाई धन्दा बनाउने माओवादी नेताका कारण मुख देखाउन नसक्ने अवस्थामा छन् । तिनकै रवैयाका कारण जनतासँग जाँदा ती पनि निरुत्तरित हुन्छन ।
राजनीतिक धन्दामा बाँचेका माओवादी नेताहरु सुरक्षाकर्मीको घेरामा हिड्छन । आधारभूत वर्ग खरको झुपडीमा बस्ने अबस्थामा तपाईं भने अग्लो पर्खाल भएको आलिसान महलमा बस्दै आउनुभएको छ, के हो त्यस्को श्रोत ! दलाल, बिचौलियाका घेरामा रमाउँदै महंगा गाडीमा कुद्छन । लारक्याल लामा जस्ता विवादित व्यवसायीको दाहिना छन् । अनि जनताको समस्यासँग फेस गर्नै पर्दैन । दुःखकष्ट गर्ने जनताको छोराछोरीले बनाएको संगठनमा आएर उही कोइलीले अर्काको गुँडमा अण्डा पारे जस्तै पार्दै हिंड्छन ।
काठमाडौंका जनता धेरै सचेत छन् । बालेन साहले राम्रो काम गरेर, सामाजिक अभियन्ता बनेर काठमाडौंको मेयर जितेका होइनन् । पहिला अत्यन्त विश्वास गरेको माओवादी केन्द्रका सीमित नेताहरुको गलत कार्यशैली र जीवनशैलीले गर्दा जनताले नयाँ विकल्प खोजेका हुन । पहिला नेपाली कांग्रेस र एमालेको विकल्प माओवादी केन्द्र जनताले चाहेका थिए । माओवादी केन्द्र नेका र एमालेभन्दा पनि खराब बनेको अनुभूति गरेपछि धेरै जनता पुरानै पार्टी नेका र एमालेमा फर्किएका छन् । केही स्वतन्त्रलाई विकल्पका रुपमा रोजिरहेका छन् । काठमाडौं २ का जनताका बीचमा निकै प्राविधिक तामझामका साथ ओनसरी घर्ती चुनावी अभियानमा हिंडिरहेकी छिन । भ्रष्टाचार गरेको छैन   भनिरहँदा पनि  मतदाताहरु झन् किन भड्किएका छन् ! मतदाताहरु विकल्पको बहस गरिरहेका छन् ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares