नवरात्रिको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।
मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेषरूपमा ब्रह्मचारिणी देवीको विशेषरूपमा पूजा आराधना गर्ने गर्छन् ।
यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दशैँघरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रिका अवसरमा देवीको आराधना गरी पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।