काठमाण्डौँ, मंसिर २८
काठमाडौँ महानगरपालिकाले ‘मिर्गौला बचाउ अभियान’ शुरु गर्न लागेको छ । २६ औं महानगर दिवसबारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक र सरकारी अस्पतालसँगको समन्वयमा यो अभियान शुरु गर्न लागेको जानकारी दिए ।
‘काठमाडौँ महानगरपालिकाले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा अहिले पनि मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने गरिरहेको छ । सबै काम आफैं गर्नुपर्छ भन्ने होइन । गुणस्तरीय सेवाका लागि विशेषज्ञता हासील गरेका संघ संस्था तथा निकायसँगको सहकार्यमा नागरिकलाई आवश्यक पर्ने सेवा सहज बनाउने हाम्रो प्रयास हो,’ उनले भने ।
अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्ने, कोविड–१९ को महामारीका बेला अस्पतालहरुलाई पीसीआर मेसिनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने, कोभिड संक्रमण भएकाहरुलाई निःशुल्क अस्पताल पुर्याउनेलगायतका काम गरिरहेको उनले जानकारी दिए । समयमै सावधानी अपनाउन सके लाखौं रुपैयाँ खर्च गर्नुपर्ने र लामो समयसम्म पीडा खप्नुपर्ने बाध्यताबाट जोगिने उनको भनाइ छ ।
यसका लागि महानगरपालिकाले ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्न लागिएको बताए । दक्ष चिकित्सकको टोलीसहित ३२ वटै वडामा पुगेर अभियान सञ्चालन गर्ने भएको छ । यस्तै, महानगरले जनताको अभिमत लिन हिजोदेखि ‘अभिमत संकलन बुथ’ सञ्चालन गरिरहेको छ ।