Thursday, March 28
Shadow

एसइईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार प्रदान


  • -इ
  • इ+

केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक एक लाख पुरस्कार प्रदान गरेको छ । विसं २०७८ मा सञ्चालित एसइई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको हो । थर्पुडाँडा मावि सप्तेश्वरका छात्र रेडस्टार राई र पृथ्वी मावि बाक्सिलाकी छात्रा युनिसा राईलाई जनही रु एक लाख पुरस्कार प्रदान गरिएको हो ।

उत्कृष्ट छात्र–छात्रालाई ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिका प्रमुख समिर राई र उपप्रमुख गुरुराज राईले संयुक्तरूपमा पुरस्कार तथा सम्मानपत्र वितरण गर्नुभएको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्र–छात्रालाई पुरस्कार प्रदान गरिएको हो । केपिलासगढी गाउँपालिकाले चालु आवदेखि गाउँपालिकाका दुई विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार १८ महिने प्राविधिक शिक्षाको कोर्षका लागि छात्रबृत्ति प्रदान गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो । आवेदन आह्वान गर्ने र दुई विद्यार्थीलाई छनोट गरेर प्राविधिक अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा गाउँपालिकामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच हिसाब दौड, कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि नृत्य तथा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीबीचमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । यसैबीच दिप्रुङ चुइचुम्मा गाउँपालिकाले उत्कृट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिकाको कार्यालय याङ्सोलाटारमा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख लोकेन्द्र राईले एसइईका उत्कृष्ट एक विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको हो । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

गाउँपालिकामा डाक्टर र इञ्जीनियर उत्पादन गर्ने लक्ष्यका साथ विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरिएको उहाँको भनाइ छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेशनको मोडलमा आवासीय विद्यालय सञ्चालनका लागि कार्यदल बनाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । शुभम् फाउण्डेशनले विद्यार्थीलाई ‘गरी खान सिकाउने’ व्यवहारिक शिक्षाको अभ्यास गराउँदै आएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares