कतै सडक खन्दाको समस्याले जमिन खस्छ, पहिरो जाने धेरै घटना छन् तर, बागलुङको रायडाँडामा भने अनौठो तरिकारले बस्ती नै बग्न थालेको छ । बागलुङ नगरपालिका–११ को तल्लो रामतोलामा पहिरो बगेर दर्जनौँ घर परिवार विस्थापित भएका छन् । केही दिनदेखि जमिनमा चिरा परेको र मङ्गलबारको अविरल वर्षापछि जमिन बग्न थालेको हो । जमिन बग्दा सडक, जङ्गल, ठूला पिपलका रुख, सुन्तलाको बगान, कुखुरा पालन फार्म र कतिपय घरमा चिरा परेका छन् भने केही घर र गोठ भत्केका छन् । “घर कटेरो भत्केपछि सबै छाडेर हिँड्नुपरेको छ”, स्थानीय ढालनाथ शर्माले भन्नुभयो, “छिमेकीका घरपनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन् ।” केही दिनदेखि जमिन चर्केकामा बुधवार बिहान बढी पहिरो खसेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । यो बस्तीका बिजुलीका खम्बा ढलेपछि झण्डै एक सय घरमा बिजुली अभाव भएको उहाँले बताउनुभयो । खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीय चिन्तामा छन् । पहिराले बिजुलीका खम्बा ढल्दा ती घरमा विद्युत् अवरुद्ध भएको गौतमले जानकारी दिनुभयो । उक्त पहिराले स्थानीय कुलराज शर्मासहित दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको स्थानीय विष्णु पौडेलले जानकारी दिनुभयो । जमिन चिरा परेको स्थान हेर्दा थप सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उहाँले बताउनुभयो । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको हो । “यो सङ्केत हेर्दा यहाँको बस्ती नै जोखिम भयो, अब धेरै घर विस्थापित हुने भए”, पौडेलले भन्नुभयो, “कतै रोकथाम गर्ने अवस्था नै छैन ।” हरेक बारीका पाटामा कुखुराले खोस्रेझै खाल्डा पर्ने र चिरा पर्दै बग्ने गरेको उहाँले बताउनुभयो । बगेको पहिराले जैमिनी नगरपालिका–१ को ओडार भन्ने स्थानमा पनि जोखिम बढेको छ । केही स्थानमा क्षति भइसकेको छ । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ । केही दिनदेखि परेको वर्षाले पहिरो खस्न थप सहयोग पुगेको इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो । “तत्काल कुनै पनि उपायले पहिरो रोक्न सकिने अवस्था छैन”, गिरीले भन्नुभयो, “यो अनौठो तरिकारले सिंगो पहाड खस्ने अवस्था भयो ।”
बागलुङ नगरपालिका–११ को तल्लो रामतोलामा बस्ती नै बग्ने गरी पहिरो
- -इ
- इ
- इ+
यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा
by Interview Nepal
पत्रकार विश्वकर्मा सम्मानित
by Interview Nepal
लुम्बिनीमा वसन्ते धान खेतीको प्राविधिक टोलीको अनुगमन
by Interview Nepal
इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट
by Interview Nepal
