Wednesday, April 24
Shadow

रुस-युक्रेन युद्धमा नेपालले पक्षधरता देखाउनु गलत भयो : प्रचण्ड


  • -इ
  • इ+

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रुस-युक्रेन युद्धका विषयमा नेपालले पक्षधरता देखाउनु गलत भएको बताएका छन् । केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै बिहीबार दाहालले सरकारले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्नु गलत भएको बताएका हुन् ।

गठबन्धनमा पनि यस विषयमा गम्भीर रूपमा गल्ती भयो भन्ने धारणा बनेको पनि उनले बताए । छिमेकी मुलुकहरू चीन र भारतले समेत कुनै एउटा पक्ष नलिएको उल्लेख गर्दै दाहालले नेपाल असंलग्न परराष्ट्र नीतिमा कायम अडिग रहनुपर्ने बताए ।

‘रुस-युक्रेन युद्धबारे नेपालले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्‍यो । यो विषयमा गठबन्धनमा गम्भीर रूपमा गलत भयो भन्ने धारणा छ । चीन र भारतले समेत युक्रेन युद्धको बारेमा कुनै एउटा पक्ष लिएका छैनन् । भारतले रुससँग निकटता प्रदर्शन गरिरहेको र चीनले खुलेआम सहयोग गरेको अवस्थामा नेपालले युक्रेनको पक्षमा भोटिङ गर्नु हुन्न । क्याबिनेटमा छलफल गरेर भोटिङ गरेको रहेनछ । अबदेखि छलफल गरेर मात्रै त्यस्ता काम गर्न भनिएको छ,’ दाहालले भने ।

यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराइएको उल्लेख गर्दै दाहालले भने,’युद्धमा यो वा त्यो पक्षमा लाग्नु भन्दा असंलग्न परराष्ट्र नीतिमा लाग्नुपर्छ । यस्ता समस्या कूटनीतिक माध्यमबाट गरियोस् भन्ने कुरा उठाउनुपर्छ । वक्तव्य आउनेबित्तिकै यो विषय उठाइएको छ । प्रधानमन्त्रीलाई भनिएको छ । त्यसबारे फरक मतका रूपमा राखिएको छ ।’

संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गरेको थियो । छिमेकी मुलुकहरू चीन र भारत भने मतदानमा उपस्थित भएनन् । उक्त प्रस्तावमा नेपाल र अमेरिकासहित विश्वभरका १४१ मुलुकहरूले पक्षमा मतदान गरेका थिए । उनीहरूले रुसले युक्रेनमाथि गरिरहेको सैन्य कारबाही र बल प्रयोगविरुद्धको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares