२१ साउन २०७८ खोटाङ
केशब श्रेष्ठ
नेपालको पूर्वि भागमा अवस्थित खोटाङ जिल्ला प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ । पहिले यस क्षेत्रमा खोटेहाङ नाम गरेको किरात सभ्यताका राजा थिए र उनैका नामबाट खोटाङ नाम रहन गएको भन्ने यहांको समुदायको मान्यता छ ।
पूर्बको पशुपतिनाथको नामले चिनिने हलेसि मन्दिर पनि खोटाङ जिल्लामै पर्दछ । हलेसि हिन्दु, किरात र बौद्ध धर्मावलम्बिको साझा तीर्थस्थल हो । यहाँ देश बिदेशका मानिसहरु धार्मिक आस्था बोकेर आउने गर्दछन् । हलेसि गुफाको प्राकृतिक भुवनोटको संरचना बिश्वमै अनौठो मानिन्छ । यहाँ मनोरम प्राकृतिक दृश्य एवमं बिभिन्न अनौठा र आकर्षक चट्टानले भरिपुर्ण मन लोभ्याउने दृश्य देख्न सकिन्छ । हलेसिलाई हिन्दु धर्मावलम्विले पुर्वको पशुपति, बौद्ध धर्मालम्विले दोस्रो लुम्विनी र किरात धर्मावलम्विले आदिम भुमि मान्दै आइरहेका छन् । हलेसी महादेवको दर्शन गरेमा खडेरी बाट मुक्ति पाउने, दुखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने निरोगि हुने जनविश्वास रहेको छ । यहाँ राम नवमी, शिबरात्रि, बालाचतुर्दसी र तिज गरि बर्षमा चार पटक ठुला मेला लाग्ने गरेको छ ।
खोटाङलाई पर्यटकिय सम्भावना बोकेको जिल्ला मानिन्छ । रुपाकोट, ट्याम्के, हलेसि, बराह ताल लगायतका ठाउहरु पर्यटनका लागि महत्वपूर्ण ठाउँहरु हुन् ।
खोटाङ समुन्द्री सतह बाट १ सय ५२ देखी ३ हजार ६ सय २० मिटरको उचाइमा र क्षेत्रफलको हिसाबले १ हजार ५ सय ९१ बर्ग किलो मिटर फैलिएको छ । पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर सिमाना को बिचमा रहेको छ । खोटाङ विविध प्राकृतिक स्रोत, सम्दायले भरिपुर्ण र उर्बर भुमि हो । खोटाङ जैविक बिबिधताले भरिपुर्ण मानिन्छ । १ लाख ५४ हजार २० हेक्टर मध्ये ८० हजार ९ सय २९ हेक्टर जमिन वन जंगलले ओगटेको छ । यहाको वन जंगलमा ७० जडिबुटी तथा गैर काष्ठ प्रजातिका वन पैदावर पाइन्छ । यहाँ लोपोन्मुख वन्यजन्तु लगायत करिव ३० प्रजातिका स्तनधारि जनावर पाइन्छ ।
खोटाङका समुदायको मुख्य व्यवसाय कृषि हो । यहाँ अल्लो, राडिपाखि, ढाका, मैनबत्ति लगायतका साना उद्योग सन्चालन गरिएका छन् । यहाँ उत्पादित सामाग्रीहरु आधुनिक विश्व बजारमा पुर्याउन सके खोटाङको बिकास हुन सक्ने सम्भाबना छ ।
खोटाङ जिल्लालाई पिछडिएको जिल्ला भनेर पनि बर्गिकरण गरिन्छ तर भौगोलिक दृष्टिकोणले बिकट भएतापनि प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको ऐतिहासिक ठाउँ हो । खोटाङलाई पर्यटकिय स्थल बनाउने हो भने यहाँ प्राकृतिक स्रोत साधनको कमि छैन ।