कपिलवस्तु, असोज ७
कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ हरिगवाबाट प्रहरीले करिब १८ लाख ३० हजार रुपैयाँ बराबरको ल्यापटप डिस्प्ले प्यानल र मोटरसाइकल बरामद गरेको छ। बरामद सामान छाडेर संलग्न व्यक्ति फरार भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमाण्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले बुधबार बिहान करिब २ बजे हरिगवा क्षेत्रमा गस्ती गर्ने क्रममा प्रहरीको गाडी देखेपछि बाटो नजिकै बेवारिसे अवस्थामा छाडिएको मोटरसाइकल तथा सामान फेला पारेको हो।
प्रहरीका अनुसार बरामद सामानमा Laptop Display Screen Panel २४० थान रहेका छन्। प्रतिथान करिब ७ हजार रुपैयाँका दरले यसको अनुमानित मूल्य १६ लाख ८० हजार रुपैयाँ रहेको छ।
यस्तै, UP 55 AD 5621 नम्बरको मोटरसाइकलको अनुमानित मूल्य करिब १ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलसहित बरामद सामानको कुल अनुमानित मूल्य १८ लाख ३० हजार रुपैयाँ रहेको छ।
बरामद सामान तथा मोटरसाइकललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा ल्याइएको थियो। घटनामा संलग्न व्यक्ति भने हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आवश्यक कारबाहीका लागि बरामद सामान तथा मोटरसाइकल बुधबार भन्सार कार्यालय कृष्णनगर, कपिलवस्तुमा पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
