Monday, July 13
Shadow

रितेश शर्मामाथिको कुटपिट घटनामा आफ्नो संलग्नता नरहेको सांसद अभिषेक प्रताप शाहको दाबी


  • -इ
  • इ+

कपिलवस्तु, असार २९।

प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कृष्णानगर नगरपालिका–२ मा रितेश शर्मामाथि भएको कुटपिट घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। उनले आफूमाथि लगाइएका आरोपहरू निराधार, भ्रामक र मनगढन्ते भएको दाबी गर्दै ती आरोपहरूको खण्डन गरेका छन्।
शाहका अनुसार घटनाबारे जानकारी पाएपछि उनी एक जिम्मेवार जनप्रतिनिधिको हैसियतले घटनास्थलमा पुगेर झगडा रोक्न बीच–बचाउमा खटिएका थिए। उनले कुटपिटमा संलग्न युवाहरूलाई सम्झाइबुझाइ गरेर त्यहाँबाट हटाएको र क्षेत्रको शान्ति कायम गर्ने प्रयास गरेको दाबी गरेका छन्। तर, आफ्नो यही भूमिकालाई केही व्यक्तिले नियोजित रूपमा गलत ढंगले प्रस्तुत गरी आफूलाई विवादमा तान्ने प्रयास गरेको उनको भनाइ छ।
विज्ञप्तिमा शाहले रितेश शर्मासँग विगतदेखि राजनीतिक मतभेद रहेको उल्लेख गर्दै गत निर्वाचनका क्रममा समेत आफ्नो विरोधमा गतिविधि भएको दाबी गरेका छन्। त्यही पूर्वाग्रहका कारण अहिले आफूविरुद्ध झुटा आरोप लगाइएको उनको भनाइ छ।
सांसद शाहले रितेश शर्माले नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग खिचिएका तस्वीरहरूको दुरुपयोग गरी सर्वसाधारण तथा व्यापारीहरूलाई प्रभावमा पार्ने, धम्क्याउने र चन्दा असुली गर्ने जस्ता गतिविधिमा संलग्न रहेको आरोप पनि लगाएका छन्। उनले यस्ता विषयको समेत निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
शाहले प्रशासन र नेपाल प्रहरीसँग सम्पूर्ण घटनाको निष्पक्ष तथा गहिरो अनुसन्धान गरी कुटपिटमा संलग्न वास्तविक दोषीमाथि कानुनी कारबाही गर्न, साथै आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक प्रचार गर्ने व्यक्तिहरूको पनि सत्यतथ्य उजागर गरी कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares