काठमाण्डौँ, साउन २
सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी भएपछि बझाङमा वडासचिव र प्राविधिक सहायक पक्राउ परेका छन्।
बुंगल नगरपालिका–११ का वडासचिव ओपेन्द्रकुमार महतोले पुतलीलेकको आफ्नो बस्ने कोठामा राखेको ३९ लाख रूपैयाँ गएको मंगलबार राती हराएको बताएका थिए।
यसबारे अनुसन्धान गर्न प्रहरीले उनीसहित वडा कार्यालयका प्राविधिक सहायक खडकबहादुर सिंहलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले रकम चोरी भएको दिन सँगै रहेका दुबै जनालाई अनुसानधानका लागि नियन्त्रणमा लिइएको बताए।
सचिव महतोले गत महिना बैंकबाट झिकेर २१ र २२ गते भत्ता बाँडेका थिए। बाँकी रहेको रकम उनले आफ्नो कोठामा राखेर ताला लगाई वडा कार्यालय गएका बेला २९ गतेको राति ९ बजेतिर चोरी भएको दाबी गरेका थिए।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            