काठमाण्डौँ, वैशाख २८
काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी रहने भए सँगै अब होटेल तथा पार्टी प्यालेसमा हुँदै आएको विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा रोक लगाइएको छ ।
मंगलबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । सोही बैठकले पार्टी प्यालेसमा हुँदै आएको विवाह, व्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उनले यस्ता कार्यक्रमबाट कोरोना संक्रमण फैलिदै गएको पाईएपछि रोक लगाईएको बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारीले उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् । ‘९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले किराना र डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिने निर्णय गरेका छौं’ काठमाडौंका प्रजिअ पराजुलीले भने । वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो ।