Thursday, April 25
Shadow

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, विभिन्‍न सम्झौता हुने


  • -इ
  • इ+

काठमाडौँ , चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ढाका प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत सोमबार बिहान ८: ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीको बिदाइका लागि विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी पुगेका थिए । भण्डारीले विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीका अवसर पारेर बंगलादेश गएकी हुन् । नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण हुन लागेको हो । तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको छैन ।

सन् २०१९ को अन्त्यमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिल नेपाल आएका थिए । राष्ट्रपति भण्डारीको भ्रमण दलमा २७ सदस्य छन् । टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथै परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई पनि छन् । भ्रमण दलमा राष्ट्रपति कार्यालयबाट चार जना परेका छन् ।

बंगलादेश भ्रमणका क्रममा पर्यटन, संस्कृति आदानप्रदान, स्यानेटरी र फाइटो स्यानेटरी तथा रोहनपुरदेखि सिंहबादसम्म ‘ट्रान्जिट रुट’ का रूपमा प्रयोगमा सहकार्य गर्न दुई मुलुकबीच सम्झौता हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यी सम्झौता सोमबार बेलुकी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको सरकारी निवास बंग भवनमा हुने गरी कार्यक्रम तय भइसकेको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares