काठमाडौँ , फागुन २७ । नेकपा एमाले र जसपाका नेताहरुबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । साथै दुवै पार्टीको कार्यदल स्तरीय भेटवार्ता शुक्रबार समेत हुने उनले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुबासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई सहभागी थिए ।
त्यस्तै जसपाबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल करण सहभागि रहेका थिए ।
जसपाको शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राईलाई बुधबारको बैठकले वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो ।
साथै शिर्ष नेताहरुले प्रधानमन्त्री ओलीपछि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गर्ने भएका छन् । त्यस्तै, जसपाले संसदीय दलको बैठक शुक्रबार बैठक बोलाएको छ ।
यसअघि अहिलेको सत्ता समिकरणमा काँग्रेस निर्णायक भनिएको भएपनि सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताएपछि भने काँग्रेस भन्दा पनि सत्ता समिकरणमा जसपा निर्णय भएको छ ।