Thursday, March 28
Shadow

प्रक्रियागत अन्योलले प्रतिनिधिसभा बैठक सुरु हुन सकेन


  • -इ
  • इ+

काठमाण्डौँ, फागुन २३
सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक आज आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको भए पनि बैठक सुरु भएको छैन।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सांसदहरु आइसकेका छन्। तर, पार्टीका शीर्ष नेताहरु आइपुगेका छैनन्। प्रधानमन्त्री केपी ओली भने केहीबेर बैठक बसेर बाहिरिएका छन्।

कुन विधि र प्रक्रियाबाट बैठक सञ्चालन गर्ने भन्ने अन्योल हुँदा ढिलाइ भएको बताइएको छ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला सुरु हुन लागेको यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ। अधिवेशन सुरु हुनुअघि नेकपाका दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेतक घोषणा गरिसकेका छन्।

नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए।

संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

जसअनुसार यसअघिका अधिवेशनजस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिनेछ। त्यसैगरी मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि सभामुखले सुनाउनेछन्।

बैठकमा सात वटा अध्यादेश पनि प्रस्तुत गर्ने कार्यसूची छ। पहिलो बैठकमा पेश गर्ने शोक प्रस्ताव नै १४ वटा छन्।

यो कार्यसूचीलाई कार्यव्यवस्था परामर्श समितिको बैठकले अन्तिम रुप दिनेछ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares