Saturday, April 20
Shadow

म्यान्मारमा सेनाले गोली चलायो, ३८ प्रदर्शनकारीको मृत्यु, प्रदर्शनविरूद्ध दमन तीब्र


  • -इ
  • इ+

काठमाडौँ, फागुन २० । सैन्य ‘कु’ विरूद्ध आन्दोलित सर्वसाधारणमाथि म्यान्मारको सेनाले चलाएको गोली लागेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।म्यान्मारको सेनाले बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि ‘बिना चेतावनी’ गोली चलाउँदा कम्तीमा ३८ जना मारिएको बीबीसीले जनाएको छ ।

सुरक्षा फौजले विभिन्न शहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

म्यान्मारका छिमेकी मुलुकहरूले संयम अपनाउन त्यहाँको सेनालाई आग्रह गरेको भोलिपल्टै सेनाले अन्धाधुन्ध गोली प्रहार गरेको हो । बुधबारको घटनामा १४ देखि १७ वर्षका किशोर किशोरीको पनि मृत्यु भएको सेभ द चिल्ड्रेनले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले बुधबारको घटनालाई सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिनको रूपमा अर्थ्याएको छ ।

म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य देखिएको बताएकी छन् ।

सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते भएको उनले बताइन् ।

यसैबीच म्यान्मारमा सेनाले सर्वसाधारणमाथि दमन गर्न थालेपछि यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक बस्दैछ ।बैठकमा म्यान्मारको अवस्था र आगामी कदमबारे छलफल हुनेछ ।बुधवारको घटनापछि अमेरिकाले म्यान्मारको सेनाविरूद्ध थप कदम चाल्ने चेतावनी दिएको छ ।

बेलायतले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमार्फत कडा कदम चाल्नु पर्ने बताएको छ ।

अन्तर्राष्ट्रिय समुदायको चेतावनीलाई बेवास्ता गर्दै सेनाले प्रदर्शनविरूद्ध दमन तीब्र पारेको छ । सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको पनि बताएको बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर संकटकाल लगाए पनि म्यान्मारभरी सामूहिक प्रदर्शन जारी छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares