Friday, March 29
Shadow

सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव छ : प्रधानसेनापति थापा


  • -इ
  • इ+

=काठमाडौँ , फागुन १२ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुने बताएका छन् ।

हिउँद याममा विश्वकै दोस्रो अग्लो हिमाल केटु ९८, ६११ मिटर० को पहिलो पटक सफल आरोहण गरेर फर्केका नेपाली टोलीलाई आज नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित सम्मान कार्यक्रममा उनले केटु हिमाल आरोहणले नेपाल र नेपालीको गौरव बढाएको बताए । “यो अतुलनीय योगदानको जति प्रशंसा गरे पनि कमै हुन्छ”, उनले भने, “हिमपहिरो, हिमआँधी र कठिन भूगोलको चुनौतीको सामना गर्दै सफल आरोहण गरेकामा नेपाली सेनाको हार्दिक बधाई छ ।”

प्रधानसेनापति थापाले केटु हिमाल आरोहणको अभूतपूर्व सफलताबाट नेपाली जनता गौरवान्वित भएको उल्लेख गर्दै उक्त कार्यबाट नेपाली सेना हर्षित भएको बताए । “आरोहण टोलीले अनुपम उदाहरण प्रस्तुत गरेको छ, सामूहिक रुपमा मिलेर गरे असम्भव केही पनि छैन भन्ने स्पष्ट भएको छ”, उनले भने । दैनिक कार्यशैली, सोच विचारका साथ गरेको आरोहण देशका लागि मार्ग निर्देशन भएको उनले उल्लेख गरे ।

प्रधानसेनापति थापाले राष्ट्रिय भावनासहित सबै एकजुट भएर एउटै लक्ष्यका साथ चढेकाले हिमाल आरोहणको कीर्तिमान सम्भव भएको बताए । योजना सही ढङ्गले कार्यान्वयन गरेकै कारण ठूलो सफलता प्राप्त भएको उल्लेख गर्दै उनले आरोहण टोलीको अनुभव नेपाली सेनाका लागि मात्र नभई सम्पूर्ण नेपालीका लागि प्रेरणाको स्रोत बनेको बताए । प्रधानसेनापति थापाले नेपालीले विदेशमा विभिन्न चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै त्यही अनुभव अनुसार आफ्नै देशमा काम गर्नसके देशले फड्को मार्ने तथा उन्नति प्रगति गर्न सम्भव हुने बताए ।

“विदेशको अनुभवले राष्ट्रप्रतिको कर्तव्य पालन गर्न मद्दत पुग्छ, विदेश जानु नराम्रो होइन, तर त्यहाँ के सिक्ने र के सिक्यौँ भन्ने कुरा महत्वपूर्ण हो”, उनले भने । प्रधानसेनापति थापाले हिमाल आरोहण सामान्य काम नभएको उल्लेख गर्दै नेपालीले चाहे गर्न नसक्ने कुनै पनि काम नभएको स्पष्ट पारे । नेपालीले विदेशमा बेला बखतमा आफ्नो अद्भूत क्षमता प्रदर्शन गर्दै आएको र आफ्नो देशमा आएर उक्त क्षमता के कति देखाउन सक्यौँ भन्ने कुरा अर्थपूर्ण हुने उनको भनाइ थियो । “गरे असम्भव के नै छ र, विश्वास भए असम्भव केही पनि छैन, सम्भव असम्भव हामी आफैँले तय गर्ने हो”, प्रधानसेनापति थापाले भने ।

सो अवसरमा केटु हिमाल आरोहण गर्ने नेपाली टोलीलाई सहयोग गरेकामा उनले पाकिस्तान सरकार, जनता र नेपालस्थित पाकिस्तानी राजदूतावासलाई धन्यवाद दिए । दश आरोही सम्मिलित नेपाली आरोहण टोलीले गत माघ ३ गते केटु हिमालको सफल आरोहण गरेको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares