काठमाडौँ, माघ २१ । संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल(नेपाल समूहले आज आमहड्ताल घोषणा गरेको छ ।
सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्ति तत्कालै बदर गर्नु पर्ने मागसहित दाहाल(नेपाल समूह आमहड्तालमा उत्रिएको हो ।
आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्दको घोषणा गरिएको छ । आमहड्तालका कारण मुलुकभर यातायातका साधन फाट्फुट्ट मात्र चलेका छन् ।
लामो दूरीका सवारी साधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारीसाधन भने फाट्फुट्ट मात्रै चलेको ट्राफिक प्रहरीले जनाएको छ ।
दाहाल(नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बन्द गराउन सडकमा निस्किएका छन् । काठमाडौँका विभिन्न स्थानमा बिहानै यातायात अवरूद्ध पार्न खोजेपछि प्रहरीले ४० जनालाई पक्राउ गरेको छ । काठमाडौँको सामाखुसीबाट मात्रै पाँच जना पक्राउ परेका छन् ।
नेता रामप्रसाद सापकोटा ‘दिपशीखा’ का अनुसार सामाखुसीबाट मिलन तमाङ, समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलाई पक्राउ गरिएको छ । उनीहरूलाई तत्काल रिहा गर्न सापकोटाले माग गरेका छन् ।
आमहड्तालमा तरकारी तथा दुध बोक्ने गाडी, अस्पताल, औषधि पसल, परीक्षार्थीहरूलाई भने अवरोध नगरिने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन् ।
यता गृह मन्त्रालयले आमहड्ताललाई वेवास्ता गर्दै दैनिक क्रियाकलापलाई पूर्ववत अवस्थामै गर्न आह्वान गरेको छ ।बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा–अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने जनाएको छ ।
तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेका पाइए त्यस्ता गतिविधिमा संलग्नलाई कानून बमोजिम कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयले उद्योग धन्दा, पेसा, व्यवसाय पूर्ववत् रूपमा निर्धक्क भएर सञ्चालन गर्न आग्रह गरेको छ ।
आमहड्ताललाई लक्षित गरी सरकारले मुलुकभर नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती बढाएको छ । बिहानैदेखि सडकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिती देखिएको छ ।
पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल(नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको हो ।