काठमाडौं , माघ २१ ।। सरकारले आज संवैधानिक आयोगहरुलाई पूर्णता दिने भएको छ । संवैधानिक परिषद्ले गरेको विवादास्पद सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गर्ने भएकी छन् ।आज सबैजनालाई नियुक्त गर्ने र आजै शपथ गराउने तयारी भईरहेको छ ।
संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत ११ संवैधानिक निकायमा ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सोअनुसार आज बिहान सबै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउने छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संवैधानिक परिषद्का सदस्य सचिव समेत रहेका मुख्य सचिव शंकरदास वैरागीले परिषद्बाट सिफारिस भएका सबैजनाको सिफारिस कानुनअनुसार परिपक्व भएकाले नियुक्तिका लागि मंगलबार साँझ नै राष्ट्रपति समक्ष नाम पठाएका थिए ।
परिषद्ले नियुक्तिका लागि नाम पठाएलगत्तै राष्ट्रपति कार्यालयले बुधबार सबैजनाको नियुक्तिको तयारी गरेको हो । संविधानअनुसार संवैधानिक निकायका पदाधिकारीको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ ।
३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगमा रिक्त रहेको ४५ जना पदाधिकारी तथा सदस्यहरू नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
सो निर्णय संवैधानिक परिषद्ले ५ पुसमा संसद् सचिवालयमा पठाएको थियो । सिफारिस भएकाको ४५ दिनभित्र निर्णय दिन नसके स्वतः नियुक्ति हुने प्रावधान रहेको छ ।