काठमाण्डौँ, माघ ७
संसद विघटनविरुद्ध नेपाली कांग्रेसले बिहीबारका लागि तय गरेको वडास्तरीय विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल गरेका छन् ।
बुधबार एक विज्ञप्ति निकालेर सभापति देउवाले भोलिको विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा भोलि देशभरका ६,७४३ वडाहरुमा कांग्रेसले विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।
कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध कार्यक्रम घोषणा गरेको थियो ।
यसअघि कांग्रेसले पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ ।
देउवाले पार्टीका सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता जनाउन पनि अपिल गरेका हुन् ।