Tuesday, April 23
Shadow

नेपालमा तीन जनामा नयाँ कोरोना पुष्टि भएपछि विज्ञहरूद्वारा सजग रहन आग्रह


  • -इ
  • इ+

काठमाडौँ , माघ ६ । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबाट तीन जना संक्रमित भएको पुष्टि भएपछि विज्ञहरूले थप स्वास्थ्य सतर्कतामा जोड दिएका छन् ।

नेपालमा सोमबार २८ वर्षीया एक महिला तथा ६७ र ३२ वर्षीय दुई पुरुषलाई नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । तीमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। पौडेलले पछिल्लो समय विदेशबाट आउनेहरू कडा क्वारेन्टाइनमा बस्न आवश्यक रहेको बताए । ‘हाल मुलुकमा कोभिडको केस घट्दो देखिए पनि जनस्वास्थ्य मापदण्ड पहिलेभन्दा पनि कडाइका साथ पालना गर्नुपर्ने भएको छ,’ उनले भने ।

वरिष्ठ जनस्वास्थ्यविद् डा। शरद वन्तले नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस आइसकेको आशंका पहिलेदेखि रहेको जनाउँदै हाल त्यसको पुष्टि मात्र भएको बताए ।

‘यो प्रजातिको संक्रामकता बढी देखिएकाले अब हामी बढी सतर्क र गम्भीर हुनुपर्‍यो । थप स्वास्थ्य सतर्कता नअपनाए यसले मुलुकमा कोभिडको छिटो दोस्रो लहर ल्याउन सघाउनेछ,’ उनले भने । नयाँ प्रजातिको भाइरस नेपालमा फैलिइसकेको छ कि छैन भन्नेमा हाल आधिकारिक रूपमा भन्न नसकिए पनि यसले संक्रमण फैलाइसकेको ठानेर सुरक्षा उपाय अवलम्बन गर्नुपर्ने डा। वन्तले बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका निर्देशक एवं भाइरोलोजिस्ट डा। श्रवणकुमार मिश्रले नयाँ प्रजातिको भाइरस देखिएका मुलुकहरूबाट आउनेहरूलाई कडा आइसोलेसनमा राख्नुपर्ने बताए ।

‘यो भाइरस यसअघिको भन्दा छिटो देशभरि फैलिने सम्भावना छ,’ उनले भने, ‘संक्रमितको शरीरमा भाइरल लोड (भाइरसको मात्रा) पनि धेरै देखिएकाले बढी सतर्क रहनुपर्छ ।’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार १४ डिसेम्बरमा बेलायती अधिकारीहरूले त्यहाँ नयाँ प्रजातिको कोरोना भाइरस देखिएको रिपोर्ट गरेका थिए ।

बेलायतमा नयाँ प्रजातिको भाइरस देखिएपछि लकडाउन गरिए संक्रमण बढिरहेको विज्ञहरूले जनाएका छन् । छिमेकी मुलुक भारतमा समेत बाहिरबाट आएकाहरूमा नयाँ प्रजातिको भाइरस संक्रमण देखिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares