Friday, March 29
Shadow

आजदेखि मौसममा सुधार , प्रदुषण घट्दै, जोखिम भने कायमै


  • -इ
  • इ+

 

काठमाण्डौ , पुस २२ । आजदेखि मौसममा सुधार भएको छ । आइतबार बेलुकीदेखि बदली भएको मौसम आजदेखि सुधार भएको हो । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौको आकाश अहिले धुम्म भए पनि दिउँसोपछि घाम लाग्ने मौसमविदले बताएका छन् । महाशाखाका मौसमविद बरुण पौडेलका अनुसार बाँकी ठाउँमा पनि बेलुकीदेखि आकाश खुल्नेछ । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदुषण घट्दै, तर जोखिम कायमै

बादल हटेर आकाश केही खुलेसँगै काठमाण्डौमा प्रदुषण घट्न थालेको छ । हिजो र अस्तिको तुलनामा प्रदुषण कम भएको हो । घाम लाग्न र हावा चल्न थालेपछि प्रदुषण घट्दै जाने मौसमविद बरुण पौडेलले बताउनुभयो । तर जाडोमा धेरै हावा नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदुषण पुरै नहट्ने विज्ञको भनाइ छ । विशेष गरेर काठमाण्डौ, विराटनगर, नेपालगञ्ज, पोखरा, जनकपुर, महेन्द्रनगर, हेटौंडा, दाङ लगायतका क्षेत्रमा प्रदुषण बढेको छ । काठमाण्डौ उपत्यकामा वायु प्रदूषणकोे स्तर अत्यधिकरुपमा बढेकाले सचेत रहन सरकारले आग्रह गरिसकेको छ ।

विशेषगरी बालबाालिका, वृद्धवृद्धा एवं दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन वातावरण विभागले आग्रह गरेको छ । घरबाहिर निस्कनै पर्दा गुणस्तरीय मास्क लगाउन विज्ञको सुझाव छ ।

काठमाण्डौ उपत्यकामा विशेष गरी पेट्रोल तथा डिजलबाट चल्ने गाडीले फाल्ने धुवाँका कारण पनि प्रदूषण बढेको छ । यस्तै विकास निर्माणका क्रममा उडेको धुवाँ, धुलो तथा कलकारखानबाट उत्सर्जन भएको धुवाँले पनि मौसम बिगार्ने गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares