Wednesday, April 24
Shadow

मुद्दा विचाराधीन र सडकमा विरोध भइरहेकै बेला सरकारले गठन गर्‍यो निर्वाचन सुरक्षा समिति


  • -इ
  • इ+

काठमाडौँ , पुस २० । सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहसचिव तहका अधिकृत सम्मिलित समिति गठन गरेका हुन् ।

समितिको सदस्य सचिवमा गृहकै शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव प्रेमलाल लामिछानेलाई तोकिएको छ । समितिलाई सुरक्षा संवेदनशीलताका आधारमा जिल्लागत विवरण, मतदानस्थल र मतदान केन्द्र, निर्वाचनविरोधी गतिविधिको समीक्षा र सुझाव, निर्वाचनमा सुरक्षा निकायको जिम्मेवारी र भूमिका, सवारी, अन्य प्राविधिक उपकरणलगायत अनुमानित लागत विवरण तयार पार्न भनिएको छ ।

गृहमन्त्रीको उक्त निर्णयपछि सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले केन्द्रीय निर्वाचन सेल नै खडा गरेका छन् । सेना र प्रहरी पनि सेल गठनको तयारीमा छन् ।

मुद्दा विचाराधीन र सडकमा विरोध भइरहेकै बेला सरकारले निर्वाचन तयारीका लागि सुरक्षा रणनीति बनाउन समिति गठन गरेको हो । यता प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चुनावको मिति घोषणा भइसकेको अवस्थामा गृहले गठन गरेको निर्वाचन सुरक्षा तथा तयारी समितिमा आयोगबाट सहसचिवलाई पठाइएको बताए ।

आयोगले ७७ जिल्लामा मतदान केन्द्र र मतदान स्थल तय गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुख सम्मिलित समिति पनि गठन गरिएको छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

विघटन असंवैधानिक भन्दै सत्तारूढ नेकपाकै पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहसहित प्रतिपक्षी कांग्रेस, जनता समाजवादी पार्टी तथा विभिन्न पेसारव्यवसाय र नागरिक तहबाट विरोध भइरहेको छ । विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर करिब एक दर्जन रिट संवैधानिक इजलासमा विचाराधीन छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares