Friday, April 26
Shadow

कोरियाली भाषा परीक्षाको टुङ्गो लागेन, तयारीमा जुटेका युवा अलमलमा


  • -इ
  • इ+

काठमाडौँ, पुस १८ । कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् ।
आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार लैजाँदै आएको थियो । परीक्षा कहिले गर्ने भन्ने टुङ्गो नलाग्दा परीक्षाको तयारी गरेका युवामा भने निराशा छाएको छ ।

कोरियाले प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ रोजगारीको अवसर प्रदान गर्दै आएको छ । कोरियाले अझै पनि भाषा परीक्षा कहिले गर्ने भनेर टुङ्ग्याउन सकेको छैन । यस्तै परीक्षा प्रणालीका बारेमा पनि निक्र्योल हुन सकेको छैन ।

कोभिड–१९ का कारण सन् २०२० मा पनि भाषा परीक्षा सञ्चालन हुन सकेन । गत वर्ष भाषा परीक्षा सञ्चालन हुन नसके पनि यस वर्ष ९सन् २०२१ मा० परीक्षा सञ्चालन गर्ने मौखिक जानकारी आएको इपिएस कोरिया शाखाले जनाएको छ । कोरियाले भाषा परीक्षा सञ्चालन गर्ने भने पनि कहिले र कसरी गर्ने भन्ने विषयमा अझै स्पष्ट पारेको छैन ।

यद्यपि कोरियाले सन् २०२१ को पहिलो त्रैमासमै भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको बुझिएको छ ।कोरियाले यसपटकदेखि ‘कम्प्युटर बेस्ड टेस्ट’ (सिबिटी) परीक्षा लिने तयारी गरेको छ । यसअघि ‘पेपर बेस्ड टेस्ट’ (पिबिटी) परीक्षा हुँदै आएको थियो ।

कोरियाली पक्ष सिबिटी परीक्षाका लागि सफ्टवेर निर्माणमा जुटेको छ । सफ्टवेयरको परीक्षण गर्ने काम पनि भइरहेको छ ।अबदेखि पिबिटी परीक्षा नगर्ने कोरियाली पक्षले स्पष्ट पारिसकेको छ ।

यसैबीच दक्षिण कोरियाले सन् २०२१ मा विभिन्न १६ मुलुकबाट ५२ हजार आप्रवासी कामदार लिने घोषणा गरेको छ । कोरोनाका कारण कोरियाले गतवर्षको तुलनामा चार हजार कम विदेशी कामदार लिन लागेको बताइएको छ ।

कोरियाले गत वर्षको तुलनाका आप्रवासी कामदारको कोटा केही कटौती गरेको भन्ने खबर सावर्जनिक भए पनि औपचारिकरुपमा इपिएस कोरिया शाखालाई जानकारी आएको छैन । देशगतरुपमा कामदारको कोटा बाँडफाँड गरेर अहिलेसम्म नपठाएको निर्देशक गौतमले जानकारी दिए ।

कोरोनापछि भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका युवा कोरिया जाने क्रम रोकिएको छ । लकडाउन हटेर हवाई उडान नियमित भएपछि रोष्टरमा रहेका युवालाई कोरिया पठाउन पहल गरिरहेको बताएको छ ।

कोरियाले कोभिड पछाडि आफ्नो मुलुकमा स्वास्थ्य सुरक्षासम्बन्धी नियम परिवर्तन भएकाले सोहीअनुसार कामदार पठाउन भन्दै पत्राचार गरेको छ ।नेपालले भाषा परीक्षा पास भएका सबै युवालाई रोजगारीका लागि मार्ग प्रशस्त गर्न कोरियासँग आग्रह पनि गरेको छ ।

सन् २००८ देखि हालसम्म भाषा परीक्षा उतीर्ण गरी ६२ हजार ८५२ पुरुष र चार हजार २० महिला गरी कुल ६६ हजार ८७२ युवा कोरिया गइसकेका छन् । कोरोना महामारीका बीच सन् २०२० मा एक हजार २७ जना कोरिया पुगेका छन् । भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका युवा जाने क्रम हुँदाहुँदै नेपालमा लकडाउन शुरु भएको थियो ।

अझै पनि भाषा परीक्षा पास गरे रोष्टरमा रहेका १२ हजार युवा कोरिया जाने प्रतीक्षामा छन् । तीमध्ये छ हजार हाराहारी छनोटमा परिसकेका छन् । रोष्टर अवधि दुई वर्षको हुन्छ । दुई वर्षभित्र कोरियाली रोजगारदाताले छनोट गरेनन् भने उनीहरु कोरिया जान पाउँदैनन् । कोरियाले कृषि र औद्योगिक क्षेत्रमा नेपालबाट कामदार लैजाँदै आएको छ ।

नेपालबाट वार्षिक औषत आठ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने गरेका छन् । हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत रहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares