Friday, April 19
Shadow

बीरगंजमा ई–रिक्सा अव्यवस्थित, सम्बन्धित निकाय मौन


  • -इ
  • इ+

वीरगंज १८ पुष । वीरगन्जमा सञ्चालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासीले ट्राफिक जाम तथा मनोमानी भाडा असुलीको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त बनेको छ ।

साथै, जथाभावी भाडा असुली गर्दा उपभोक्ता चरम मर्कामा पर्ने गरेका छन् । ई–रिक्सा सञ्चालनका लागि कुनै किसिमको मापदण्ड समेत बन्न नसकेकोले युवादेखि वृद्ध–वृद्धा तथा स–साना बालकहरुले पनि ई–रिक्सा चलाउने गरेको छन् ।

जसको परिणाम वीरगन्ज बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा चलाइरहेकाले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्या दिनदिनै बढिरहेको छ ।

वीरगन्जको घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठसम्म साँघुरा सडक, त्यसमा पनि ई–रिक्साहरुको घुइँचो भएकोले त्यस क्षेत्रमा विहान १० बजेदेखि बेलुका ७ बजेसम्म ट्राफिक जामको समस्या हुने गरेको छ ।

वीरगन्ज महानगरलाई ई–रिक्साले अस्तव्यस्त बनाएको चौतर्फी रुपमा दबाब आउन थालेपछि विगत दुई वर्षअघि लाइसेन्स विनाको ई–रिक्सा चलाउनेलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको थियो । तर, उक्त कार्य कार्यान्वय हुन नसक्दा अहिले पुनः वीरगन्जमा ई–रिक्साहरुको विगविगी बढेको हो ।

नेपाल सरकारले मुलुकलाई प्रदूषणमुक्त बनाउनका लागि ई–रिक्सा भित्र्याएको थियो तर, जथाभावी रुपमा वीरगन्जमा क्षमताभन्दा बढी ई–रिक्साहरु सञ्चालनमा आएपछि अहिले महानगरको कुना–काप्चामा पनि ट्राफिक जाम हुने गरेको छ ।

विगतमा वीरगन्जमा ई–रिक्सा भित्र्याउने अवस्थामा वी।म।न।पा। र यातायात व्यवस्था कार्यालय एवं जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग महानगरमा ३ सय र थप १ सय ५० गरी ४ सय ५० ई–रिक्सा भित्र्याउने सहमति भएको थियो ।

तर विस्तारै विस्तारै मादपण्ड नभएको मौका छोप्दै अहिले वीरगन्ज महानगरमा ४ हजारदेखि ५ हजारसम्मको हाराहारीमा ई–रिक्साहरु सञ्चालनमा छन् । वीरगन्ज महानगरपालिका कार्यालयमा ३ सय ३९ वटा ई–रिक्साहरु मात्रै दर्ता भएका छन्, भने ९० प्रतिशत भन्दा बढी ई–रिक्साहरु मापदण्ड विपरीत सञ्चालनमा छन् ।

यातायात व्यवस्था कार्यालयले ई–रिक्सा चालकको लाइसेन्स लिनको लागि विगतमा २ पटक फारम खोलेतापनि चालकहरु अटेर गरी लाइसेन्सको फारम समेत भरेका छैनन् । यातायात कार्यालयबाट अहिलेसम्म १ सय देखि १५० जनाले मात्रै लाइसेन्स प्राप्त गरेका छन् ।

विगत लामो समयदेखि ई–रिक्सालाई मापदण्डभित्र ल्याउने महानगरपालिकाले प्रयास गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाले वीरगन्जमा सञ्चालित ई–रिक्साहरुलाई मापदण्डभित्र ल्याउनका लागि १० वटा रुट निर्धारण गरिएको छ, तर कसैले पनि रुटको पालना गरेको पाइएको छैन ।

अर्कोतर्फ दररेट कायम गर्नका लागि ई–रिक्सा सञ्चालक समितिका पदाधिकारीहरुसँग दररेट माग गरिएकोमा हालसम्म कसैले ल्याएर नदिएको महानगरपालिकाको भनाइ छ । रुट कायम भएपनि कार्यान्वयन हुन नसक्नु र दररेट कायम हुन नसकेको कारण ई–रिक्सा चालकहरुले उपभोक्तासँग मनोमानी रुपमा भाडा असुली रहेका छन् ।

वीरगन्ज बजारमा मात्रै आवतजावत गर्नका लागि उपभोक्तासँगै कसैले १० रुपैया लिने गरेको छ भने कसैले २०, ३० रुपैयासम्म लिने गरेका छन् । महानगरपालिको ई–रिक्सा व्यवस्थापनको लागि मापदण्ड बनाउन कुनै गृहकार्य नै गर्न सकेको छैन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares