Tuesday, March 19
Shadow

केराउ तस्करलाई समात्न खोज्दा दुई प्रहरीको हत्या, ७२ घण्टामै हत्यारा पक्राउ


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक ४
कैलालीमा केराउ तस्करलाई नियन्त्रणमा लिन खोज्दा सो समूहले प्रहरीको हत्या गरेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा शनिबार राति मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए ।

सोही क्रममा गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रहरीले हत्यामा संलग्न सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै नेपाली हुन् । प्रहरीमाथि आक्रमण गर्ने समूह ९ देखि ११ जनासम्म रहेको पाइएको छ । उनीहरुलाई आजै सार्वजनिक गर्ने तयारी छ । असई विकको शव आइतबार बिहान र प्रहरी जवान साउँदको शव आज मोहना नदीमा फेला परेको थियो । दुवैको विभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीको हत्यापछि तस्कर समूहले भारततर्फ केराउ निकासी गरेको पनि देखिएको छ ।

विकले चढ्ने बा.५८प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो ।

डीआईजी सुवेदीले भने, “७२ घण्टाभित्रै अभियुक्तसम्म पुगेका छौं । घटनामा संग्लन केहीको खोजी कार्य जारी छ । कर्तव्य पालनाकै क्रममा ज्यान गुमाएका संगठनका सदस्यप्रति उच्च सम्मान छ । यसले प्रहरी जुनसुकै चुनौतीमा पनि अग्रमोर्चामा रहन्छ भन्ने देखाएको छ ।”

असई विकको टोलीले सामानसहित तस्करहरुलाई पक्राउ गरेर चौकी लैजान खोजेको थियो । त्यही क्रममा पछाडिबाट घेरा हालेर उनीहरुमाथि तस्कर समूहले आक्रमण गरेको पाइएको डीआईजी सुवेदीले जानकारी दिए । अनुसन्धानमा प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र सीआईबीको टोली परिचालन भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares