काठमाडौं , पुस १३ । माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमित भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।
उखु किसानले चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगन गरेका छन् ।
किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति भएको ओझाले बताए ।
विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका थिए ।