Friday, April 26
Shadow

प्रतिनिधिसभा विघटनप्रति बल्ल बोल्यो भारत, भन्यो – ‘हामीले नोट गरेका छौं’


  • -इ
  • इ+

काठमाडौं, पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई भारतले ‘नोट’ गरेको जनाएको छ ।

त्यसैगरी संसद् विघटनलगायतका निर्णयहरु नेपालको आन्तरिक मामिला भएकाले लोकतान्त्रिक विधिअनुसार निर्णय गर्ने अधिकार पनि नेपालकै भएको भारतले बताएको छ । साथै दक्षिणी छिमेकी भारतले नेपालमा विकसित भइरहेका पछिल्ला राजनीतिक घटनाक्रमलाई नियालिरहेको बताएको छ।

बिहीबार आयोजित विदेश मन्त्रालयको नियमित भिडिओ ब्रिफिङमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई नोटमा राखेको बताए

उनले यो नेपालको आन्तरिक मामिला भएको र प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्ने पनि बताए।छिमेकी र शुभेच्छुक भएका नाताले भारत नेपाल र नेपालीहरूलाई शान्ति, समृद्धि र विकासको बाटो अघि बढ्न सहयोग गरिरहनेछ, उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार प्रतिनिधि सभा विघटन गरेर वैशाखमा मध्यावधि निर्वाचन गरेपछि दक्षिणी छिमेकी भारतले पहिलो पटक प्रतिक्रिया दिएको हो। विगतमा नेपालका सानातिना राजनीतिक घटनाक्रममा समेत आफ्नो धारणा सार्वजनिक गर्ने गरेको भारतले प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार संसद् विघटन गर्ने निर्णय गरेको पाँच दिनसम्म पनि कुनै पनि प्रतिक्रिया जनाएको थिएन ।

संसद् विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी दुई चिरामा विभाजन भइसकेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेका रिटको शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ सुरू हुँदैछ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares