Tuesday, April 16
Shadow

संसद विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने, गर्यो यस्तो निर्णय


  • -इ
  • इ+

काठमाडौं, पुस ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।आज बसेको केन्द्रीय समितिको बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकमा पुस १६ गते नै सरकारविरुद्ध प्रदर्शन गर्ने प्रस्ताव सभापति शेरबहादुर देउवाले गरेका थिए । तर मेलमिलाप दिवसका दिनमा प्रदर्शन गर्न अनुपयुक्त हुने भन्दै मितिका बारेमा भोलिको बैठकमा छलफल गर्ने निर्णय भएको उनले बताए ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले समेत सरकारविरुद्ध प्रदर्शन गर्ने विषयमा छलफल भएको बताएका छन् ।कांग्रेस केन्द्रीय समिति बैठकअघि कांग्रेसका युवा नेताहरु गगन थापा, बद्री पाण्डे लगयतका नेताहरुको काठमाडौंको बत्तिसपुतलिमा बसेको अनौपचारिक बैठकले सरकारविरुद्ध प्रदर्शन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

केन्द्रीय समिति बैठकमा भने सरकारविरुद्ध प्रदर्शन गर्ने वा चुनावको तयारीमा लाग्ने भन्ने विषयमा फरक–फरक मत प्रकट भएको जनाइएको छ ।यसैबीच जारी बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संसद विघटनविरुद्ध प्रदर्शन गर्ने विषयमा चर्काचर्की नै परेको एक केन्द्रीय सदस्यले बताएका छन् ।

सभापति देउवाले नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्ने विषयमा फरक मत राखेका थिए ।देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने बताएपछि पौडेलले आक्रोशित बनेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारदेखि बैठक सुरु भएको हो ।दुई दिनमा जम्मा ८ जनाले मात्रै धारणा राखेका छन् । बुधबारसम्म बोल्नेको सूचीमा २७ जनाभन्दा बढीको नाम रहेको छ । बैठक भोलि दिउँसो १ बजे फेरि बस्ने भएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा भएपछि कांग्रेसले बुधबारबाट बैठक बोलाएको हो ।

प्रतिनिधिसभा संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम भएको भन्दै यसअघि नै कांग्रेसले विरोध प्रदर्शन गर्ने जनाएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares